काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चीनको सिचुवान प्रान्तसँग सीमापार यातायात, पर्वतीय विज्ञान, स्वच्छ ऊर्जा, हवाई सम्पर्क र डिजिटल प्रविधिसहित पाँच क्षेत्रमा सहकार्य गर्न प्रस्ताव गरेको छ ।
चिनियाँ कम्युनिस्ट पार्टीका सिचुवान प्रान्तीय सचिव तथा प्रान्तीय जनकंग्रेस स्थायी समितिका अध्यक्ष वाङ स्याओहुई र रास्वपाका महामन्त्री विपिनकुमार आचार्य नेतृत्वको नेपाली प्रतिनिधिमण्डलबीच मंगलबार चीनको चेङ्दुमा भएको भेटवार्तामा उक्त प्रस्ताव राखिएको हो ।
भेटमा नेपाली पक्षले सुरक्षित सीमापार सडक तथा भन्सार प्रणाली, मौसम पूर्वानुमान र विपद् पूर्वसूचना प्रणाली, जलविद्युत् तथा हरित उद्योग, चेङ्दुबाट नेपालका प्रमुख सहरमा थप हवाई उडान र कृत्रिम बुद्धिमत्ता (एआई) लगायत डिजिटल प्रविधिमा सहकार्यको प्रस्ताव गरेको थियो ।
त्यस्तै, नेपाली जडीबुटी, चिया, फलफूल तथा हस्तकलाको चिनियाँ बजारमा पहुँच विस्तार गर्न प्रशोधन, भण्डारण र गुणस्तर सुधारमा सहयोग गर्न पनि आग्रह गरिएको थियो ।
भेटमा सिचुवानका सचिव वाङले नेपाल–चीनबीचको उच्च गुणस्तरीय बेल्ट एन्ड रोड सहकार्यलाई अघि बढाउन तथा राजनीतिक र सरकारी सम्बन्ध थप सुदृढ बनाउन प्रतिबद्धता जनाए । दुई देशबीच भएका समझदारी कार्यान्वयनमा सिचुवानले योगदान गर्ने उनको भनाइ थियो ।
रास्वपा महामन्त्री आचार्यले सिचुवानको आर्थिक तथा सामाजिक विकासको प्रशंसा गर्दै नेपालको पूर्वाधार र आर्थिक विकासमा चीनले पुर्याउँदै आएको सहयोगप्रति आभार व्यक्त गरे । उनले गत अगस्टमा सीमावर्ती क्षेत्रमा आएको बाढीपहिरो तथा भोटेकोशी विपद्का बेला चीनले गरेको सहयोग र ऐक्यबद्धताको प्रशंसा गर्दै विपद् व्यवस्थापनमा सहकार्य बढाउनुपर्नेमा जोड दिए ।
भेटमा रास्वपाले एक चीन सिद्धान्तप्रतिको नेपालको प्रतिबद्धता दोहोर्याउँदै नेपाली भूमि चीनको सार्वभौमसत्ता र सुरक्षाविरुद्ध प्रयोग हुन नदिने धारणा राखेको थियो । राजनीतिक स्थिरता र स्पष्ट कार्ययोजनामार्फत नेपाल–चीन सहकार्यलाई व्यावहारिक नतिजामा पुर्याउनुपर्नेमा पनि नेपाली पक्षले जोड दिएको थियो ।
नेपाली प्रतिनिधिमण्डलले प्रस्तावित सहकार्यलाई समयबद्ध कार्ययोजनामा रूपान्तरण गर्न आग्रह गर्दै सिचुवानका सचिव वाङलाई नेपाल भ्रमणको निमन्त्रणासमेत दिएको थियो । भेटमा सिचुवानका अन्य प्रान्तीय नेता तथा चिनियाँ कम्युनिस्ट पार्टीका अधिकारीहरूको पनि सहभागिता थियो ।