काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव लड्ने उद्देश्यले उम्मेदवारहरूको समूह बनाएर मात्रै राजनीतिक पार्टी निर्माण नहुने टिप्पणी गरेका छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई लक्षित गर्दै विभिन्न व्यक्तिलाई उम्मेदवारका रूपमा अघि सारेर चुनावी प्रतिस्पर्धामा उत्रिँदैमा बलियो पार्टी संगठन नबन्ने बताएका हुन् ।
पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले आगामी स्थानीय तह निर्वाचनमा एमालेको जित सुनिश्चित गर्ने गरी संगठन निर्माण र परिचालनमा जुट्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए । निर्वाचनसम्म आराम नगरी सक्रियता र परिश्रमका साथ अभियानमा लाग्न उनले आग्रह गरे ।
‘विभिन्न ठाउँका प्रभावकारी उम्मेदवार खोजेर चुनाव लड्ने क्लब बनाएर हिँडेका छन्, पार्टी त बन्दैन अहिले,’ ओलीले भने, ‘हामी एउटा सशक्त संगठन लिएर चुनावमा जाँदै छौँ ।’
विगतमा निर्वाचन एमालेका लागि सहज नभए पनि अहिले नेता तथा कार्यकर्तामा जित्ने आत्मविश्वास बढेको उनले बताए । उक्त आत्मविश्वासलाई निर्वाचनको परिणाममा बदल्न सक्रियता र क्रियाशीलता आवश्यक रहेको उनको भनाइ थियो ।
आगामी स्थानीय तहसहित सबै निर्वाचन एमालेका लागि जित्नैपर्ने चुनौती रहेको उल्लेख गर्दै ओलीले निर्वाचनसम्मको समयलाई आराम गर्ने नभई परिश्रम र अभियानमा जुट्ने समयका रूपमा लिन निर्देशन दिए । स्थानीय तह निर्वाचनमा सफलता प्राप्त नगर्दासम्म पार्टीको अभियान जारी रहने उनले बताए ।