काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत आज (बुधबार) इलिमिनेटर खेलमा चितवन राइनोज र काठमाडौं गोर्खाजबीच प्रतिस्पर्धा हुँदैछ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साँझ ५ बजे सुरु हुने खेलमा दुवै टोली जित निकाल्दै उपाधि यात्रालाई निरन्तरता दिने लक्ष्यसहित मैदान उत्रनेछन् ।
लिग चरणमा काठमाडौं तेस्रो र चितवन चौथो स्थानमा रहँदै प्लेअफमा पुगेका हुन् । काठमाडौंले सात खेलबाट चार जितसहित ८ अंक जोडेको छ भने चितवनले तीन जित, तीन हार र एक खेलमा अंक बाँड्दै ७ अंक हासिल गरेको छ । नेट रनरेटमा पनि काठमाडौं अघि छ । काठमाडौंको नेट रनरेट प्लस ०.३६० रहँदा चितवनको प्लस ०.०११ छ ।
आजको खेल जित्ने टोलीले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ । पराजित हुने टोलीको भने उपाधि यात्रा समाप्त हुनेछ ।
यसअघि मंगलबार भएको पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै लुम्बिनी लायन्स लगातार दोस्रो पटक फाइनलमा पुगिसकेको छ । अब दोस्रो क्वालिफायर जित्ने टोलीले शनिबार हुने फाइनलमा लुम्बिनीसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।
चितवनले प्रतियोगिताको सुरुवात विराटनगर किंग्सलाई ८ रनले हराउँदै गरेको थियो । त्यसपछि लुम्बिनीसँगको खेल वर्षाका कारण रद्द हुँदा दुवै टोलीले एक–एक अंक बाँडेका थिए । सुदूरपश्चिमसँग ५ विकेटले पराजित भएको चितवनले पोखरा एभेन्जर्सलाई ३० रनले हराउँदै पुनरागमन गरेको थियो । काठमाडौंसँग १० रनले पराजित भएको टोलीले जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएको थियो । लिग चरणको अन्तिम खेलमा भने कर्णाली याक्ससँग २४ रनले पराजित भयो ।
चितवनको ब्याटिङमा रवि बोपारा र डेभिड मलान मुख्य खेलाडीका रूपमा देखिएका छन् । बोपाराले पाँच खेलमा १८४ रन बनाउँदा मलानले चार खेलमा १४९ रन जोडेका छन् । बलिङतर्फ रिजन ढकालले ६ खेलमा ११ विकेट लिएका छन् भने कमलसिंह ऐरीले १० विकेट हात पारेका छन् ।
यता, काठमाडौं गोर्खाजले प्रतियोगिताको सुरुवात जनकपुर बोल्ट्ससँग ८ विकेटको हारबाट गरेको थियो । त्यसपछि कर्णाली याक्सलाई ४ विकेट, विराटनगर किंग्सलाई ९ विकेट र लुम्बिनी लायन्सलाई ३६ रनले पराजित गर्दै लगातार तीन जित निकालेको थियो ।
काठमाडौंले चितवनलाई १० रनले हराएको थियो । तर, त्यसपछि सुदूरपश्चिमसँग ७ रन र पोखरासँग ५५ रनले पराजित भयो । सुरुवाती हारपछि लगातार तीन जित निकालेको काठमाडौंले लिग चरणको अन्त्य भने लगातार दुई हारबाट गरेको थियो ।
काठमाडौंको ब्याटिङमा राशिद खान सर्वाधिक सफल देखिएका छन् । उनले ६ खेलमा १८५ रन बनाएका छन् । अस्ट्रेलियाका पूर्वकप्तान डेभिड वार्नरले चार खेलमा १२७ रन जोडेका छन् । बलिङतर्फ जाहान्दाद खानले सात खेलमा ११ विकेट लिएका छन् । नेपाली राष्ट्रिय टोलीका कप्तान करण केसी र सन्तोष यादवले समान आठ विकेट हात पारेका छन् ।
चितवन र काठमाडौंबीच यसअघि भएका तीन प्रतिस्पर्धामध्ये काठमाडौंले दुई खेल जितेको छ भने चितवनले एक खेलमा सफलता पाएको छ । यस संस्करणको लिग चरणमा पनि काठमाडौंले चितवनलाई पराजित गरिसकेको छ ।
तथ्यांकका आधारमा काठमाडौं केही बलियो देखिए पनि चितवनलाई कमजोर आँक्न मिल्दैन । रवि बोपारा र डेभिड मलानको ब्याटिङ तथा रिजन ढकाल र कमलसिंह ऐरीको बलिङ चितवनका प्रमुख शक्ति हुन् । यता, काठमाडौंका लागि राशिद खानको ब्याटिङ तथा जाहान्दाद खान र करण केसीको बलिङ निर्णायक बन्न सक्छ ।
चितवन आज काठमाडौंसँग लिग चरणमा बेहोरेको हारको बदला लिँदै अघि बढ्न चाहन्छ भने काठमाडौं आफ्नो हेड टु हेड अग्रता कायम राख्दै दोस्रो क्वालिफायरमा स्थान सुरक्षित गर्ने लक्ष्यमा हुनेछ । खेलको नतिजाले कुन टोलीको उपाधि सपना जीवित रहने भन्ने टुंगो लगाउनेछ ।