काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सुशासन कायम गरेरै चालु आर्थिक वर्षमा १५ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य पूरा गर्ने बताएका छन्।
गत आर्थिक वर्षको तुलनामा करिब २७ प्रतिशत बढी राजस्व उठाउने लक्ष्य महत्वाकांक्षी भए पनि सुशासनका माध्यमबाट हासिल गर्न सकिने उनको विश्वास छ। राष्ट्रिय कर दिवसका अवसरमा बोल्दै उनले भने, ‘सुशासन कायम हुने हो भने यो लक्ष्य हासिल गर्न सकिन्छ।’
वाग्लेका अनुसार गत आर्थिक वर्षमा १२ खर्ब ५० अर्ब रुपैयाँ राजस्व संकलन भएको थियो। करिब ७० खर्ब रुपैयाँको अर्थतन्त्रमा राजस्व संकलन १२ खर्ब रुपैयाँ हाराहारीमा सीमित रहेको उल्लेख गर्दै उनले यस वर्ष राजस्व वृद्धिको लक्ष्य बढाइएको बताए।
कोभिड महामारीपछि राजस्व संकलनको औसत वृद्धिदर ७ देखि ९ प्रतिशतमा सीमित रहेकाले त्यसबाट मात्र अपेक्षित लक्ष्य हासिल गर्न नसकिने उनको भनाइ छ। त्यसैले यस वर्ष २७ प्रतिशतको वृद्धि लक्ष्य राखिएको उनले बताए।
राजस्व संकलनको गति बढाउन सरकार सक्रिय रूपमा लाग्ने उल्लेख गर्दै वाग्लेले निजी क्षेत्रका सुझाव, गुनासा र समस्या सुन्न सरकार तयार रहेको बताए। राजस्व लक्ष्य हासिल गर्न सरकार र निजी क्षेत्रबीच सहकार्य तथा समन्वय आवश्यक रहेको उनको भनाइ छ।
उनले कर नीतिमा स्थिरता र पूर्वानुमानयोग्यता कायम गर्नुपर्नेमा पनि जोड दिए। करजस्ता महत्वपूर्ण विषयमा पटक–पटक नीतिगत परिवर्तन गर्दा निजी क्षेत्रलाई समस्या हुने भन्दै उनले भने, ‘अत्यावश्यक विषयमा सुधार गरौँ, तर निजी क्षेत्रलाई नीतिगत स्थिरता र पूर्वानुमानयोग्यता पनि दिनुपर्छ।’
बलिया नीतिगत सुधार र सुशासनको प्रतिफलस्वरूप प्रतिकूल परिस्थितिमा पनि आर्थिक गतिविधि अघि बढिरहेको वाग्लेले बताए।