काठमाडौं । भाटभटेनी सुपरस्टोरको काठमाडौंस्थित टंगाल शाखा आजदेखि २४ सै घण्टा सञ्चालनमा आएको छ । ग्राहकलाई रातिको समयमा समेत सहज रूपमा किनमेल गर्ने सुविधा उपलब्ध गराउने उद्देश्यले शाखालाई चौबिसै घण्टा खुला राख्ने व्यवस्था गरिएको हो ।
भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत (सीओओ) पानु पौडेलका अनुसार ग्राहकको सुविधालाई ध्यानमा राख्दै टंगाल शाखामा २४ घण्टे सेवा सुरु गरिएको हो ।
यसअघि भक्तपुरको राधेराधे शाखाबाट पनि चौबिसै घण्टा सेवा सञ्चालन गरिएको थियो । टंगाल शाखामा समेत यो सेवा सुरु भएपछि ग्राहकले आफ्नो अनुकूल समयमा किनमेल गर्न सक्नेछन् ।
व्यवसायी मिनबहादुर गुरुङले ४२ वर्षअघि काठमाडौंको टंगालबाट सुरु गरेको भाटभटेनी सुपरस्टोरका हाल देशभर २७ वटा शाखा सञ्चालनमा छन् । कम्पनीले वार्षिक करिब ३२ अर्ब रुपैयाँको कारोबार गर्दै आएको छ भने यसका विभिन्न शाखामा २२ हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् ।
गत २३ र २४ भदौ २०८२ मा भएको जेनजी आन्दोलनका क्रममा भाटभटेनीका १२ वटा शाखामा आगजनी, लुटपाट तथा तोडफोड भएको थियो । उक्त घटनाबाट कम्पनीलाई अर्बौं रुपैयाँको क्षति पुगेको थियो ।
ठूलो क्षति व्यहोर्नुपरे पनि कुनै कर्मचारीको रोजगारी नकटाई पुनर्निर्माण तथा पुनः लगानीमार्फत कम्पनीले आफ्ना अधिकांश शाखा सञ्चालनमा ल्याएको जनाएको छ ।
आन्दोलनका क्रममा पूर्ण रूपमा क्षतिग्रस्त भएको टंगाल शाखाको मर्मत तथा पुनर्निर्माण सम्पन्न भएपछि गत असोज ५ गतेदेखि पुनः सञ्चालनमा ल्याइएको थियो । अहिले सोही शाखामा चौबिसै घण्टा सेवा सुरु गरिएको हो ।