चितवन । दूध अभावका कारण गत माघदेखि बन्द रहेको चितवन मिल्क उद्योगमा १० महिनापछि पुनः दूध आपूर्ति सुरु भएको छ । कात्तिक महिनादेखि बिदाका दिनबाहेक नियमित रूपमा दूध आउन थालेपछि उद्योगले प्रशोधन कार्यसमेत पुनः सञ्चालनमा ल्याएको छ ।
उद्योगका प्रबन्धक दुर्गा पराजुलीका अनुसार भदौ र असोजमा केही दिन आंशिक रूपमा सञ्चालन भएको उद्योगमा कात्तिकदेखि दूधको आपूर्ति बढेको हो । हाल दैनिक ५० देखि ६० हजार लिटर दूध प्रशोधनका लागि आउने गरेको उनले जानकारी दिए । विगतका वर्षमा भने दैनिक ८० देखि ९० हजार लिटरसम्म दूध आउने गरेको थियो ।
गत वर्ष दूध अभावकै कारण उद्योग तीन महिना बन्द भएको थियो । यस वर्ष भारतीय सीमावर्ती क्षेत्रबाट आउने दूध रोकिएपछि आपूर्तिमा थप कमी आएको पराजुलीले बताए । सहकारी तथा डेरीले सङ्कलन गरेको दूध सीधै बजारमा बिक्री गर्न थालेपछि प्रशोधनका लागि उद्योगमा ल्याउने क्रम घटेको उनको भनाइ छ ।
किसानबाट सङ्कलित दूध बिक्री हुन नसकेको अवस्थामा सहकारी र डेरीले बाँकी रहेको दूध उद्योगमा ल्याएर प्रशोधन गराउने गरेका छन् । उद्योगले उक्त दूधबाट धुलो दूध र नौनी (बटर) उत्पादन गर्दै आएको छ ।
दूध आपूर्ति बन्द भएपछि उद्योगले आफैँ दूध खरिद गरेर सञ्चालन गर्ने तयारीसमेत गरेको थियो । तर, पर्याप्त मात्रामा दूध उपलब्ध हुन नसकेपछि उक्त योजना कार्यान्वयन हुन नसकेको पराजुलीले बताए ।
अहिले चितवन, मकवानपुर, नवलपरासी, रुपन्देही र सर्लाहीसहित विभिन्न जिल्लाबाट उद्योगमा दूध आउन थालेको छ । गत वर्ष बिक्री हुन नसकेपछि डेरी तथा सहकारीले प्रशोधनका लागि उद्योगमा ल्याएका नौनी, घ्यू र धुलो दूधसमेत अहिले लगिसकेका छन् । ती उत्पादन लामो समय भण्डारणमा रहँदा भरिएका उद्योगका भण्डारणस्थल अहिले खाली भएका छन् ।
भरतपुर महानगरपालिका–१ ठिमुरामा रहेको चितवन मिल्क उद्योगले विसं २०७५ देखि डेरी तथा सहकारीको दूध शुल्क लिएर प्रशोधन गर्दै आएको छ । उद्योगले प्रतिलिटर दूधबाट धुलो दूध उत्पादन गर्दा ११३ रुपैयाँ र प्रतिकिलो नौनी (बटर) प्रशोधन गर्दा ५५ रुपैयाँ शुल्क लिने गरेको छ ।
विसं २०६४ मा स्थापना भएको उद्योग २०७२ सालको भूकम्पपछि बन्द भएको थियो । त्यसअघि उद्योगले आफैँ दूध खरिद गरी प्रशोधन गरेर बजारमा बिक्री गर्ने गरेको प्रबन्धक पराजुलीले बताए ।