बर्दिया । बर्दियाको गुलरिया नगरपालिका–४ बगही र बारबर्दिया नगरपालिका–११ जब्दी जोड्ने बबई नदीको जब्दीघाटमा नयाँ पुल निर्माण हुने भएको छ । पुल निर्माणका लागि सडक डिभिजन कार्यालय नेपालगञ्ज र निर्माण कम्पनीबीच ठेक्का सम्झौता भएको छ ।
सडक डिभिजन कार्यालय नेपालगञ्जका प्रमुख तथा सिनियर डिभिजनल इन्जिनियर नरेन्द्रप्रसाद भट्टका अनुसार भरतपुर–३, चितवनस्थित एमआर एन्ड ग्रुपसँग गत कात्तिक १६ गते पुल निर्माणसम्बन्धी सम्झौता भएको हो । सम्झौताअनुसार निर्माण कम्पनीले ४२ महिनाभित्र पुल निर्माण सम्पन्न गर्नुपर्नेछ ।
कुल ६७ करोड ४५ लाख ६९ हजार १५० रुपैयाँ लागतमा निर्माण हुने पुल दुई लेनको हुनेछ । पुल ४२० मिटर लामो र ११ मिटर चौडा रहनेछ । निर्माण कम्पनीले सम्झौता भएको नौ महिनाभित्र माटो परीक्षण प्रतिवेदन तयार गरी पुलको डिजाइन स्वीकृत गराउनुपर्नेछ ।
सडक डिभिजन कार्यालयले २०८३ असारमा पुल निर्माणका लागि ठेक्का आह्वान गरेको थियो । ठेक्का प्रक्रियामा चार निर्माण कम्पनीले प्रतिस्पर्धा गरेकामा प्राविधिक तथा आर्थिक प्रस्तावको मूल्याङ्कनपछि एमआर एन्ड ग्रुप छनोट भएको कार्यालयले जनाएको छ ।
बर्दिया क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य ठाकुरसिंह थारुले पुल निर्माणको काम तत्काल सुरु गरी निर्धारित समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन् ।
उक्त पुल बारबर्दिया नगरपालिका–७ स्थित पूर्व–पश्चिम राजमार्गको रम्मापुर चोकदेखि जयनगर बजार हुँदै जिल्ला सदरमुकाम गुलरिया र वडा नं १० स्थित नेपाल–भारत सीमाको रजनवास जोड्ने प्रमुख सडकखण्डमा पर्छ । पुल नहुँदा यस मार्ग हुँदै आवतजावत गर्ने स्थानीयवासी तथा यात्रुले लामो समयदेखि सास्ती भोग्दै आएका छन् ।
पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको जब्दीघाटको पुरानो पुल हस्तान्तरण हुनुअघि नै विसं २०७२ को बाढीले भासिएको थियो । त्यसपछि ठूला सवारीसाधनको आवागमन बन्द भए पनि पैदलयात्री, मोटरसाइकल र अटोरिक्साजस्ता साना सवारीसाधन सञ्चालन हुँदै आएका थिए ।
तर, विसं २०७९ को बाढीले पुलका चार मुख्य पिलर जोड्ने तीनवटा स्ल्याब बगाएपछि आवागमन पूर्ण रूपमा बन्द भएको इन्जिनियर भट्टले बताए ।
बारबर्दिया नगरपालिका–११ फच्कहवाकी मेनका चौधरीका अनुसार पुलका स्ल्याब बगाएपछि स्थानीयवासी शुल्क तिरेर डुंगा वा काठे पुलमार्फत नदी वारपार गर्न बाध्य छन् । नयाँ पुल निर्माणको सम्झौता भएपछि वर्षौंदेखिको समस्या समाधान हुने आशा पलाएको उनले बताइन् ।
बर्खायाममा बबई नदीमा बाढी आउँदा नदी वारपार गर्न झनै कठिन हुने गरेको छ । पुल नहुँदा गुलरिया नगरपालिका–४ का बासिन्दा सदरमुकाम पुग्न करिब १० किलोमिटर घुमेर जानुपर्ने वा जोखिम मोलेर डुंगाबाट नदी पार गर्नुपर्ने बाध्यता छ ।
नदी वारपार गर्दा शुल्क तिर्नुपर्ने भएकाले स्थानीयवासीलाई थप आर्थिक भारसमेत पर्ने गरेको स्थानीय राममिलन चौधरीले बताए । नयाँ पुल निर्माण भएपछि आवागमन सहज हुनुका साथै स्थानीयवासीको वर्षौंदेखिको सास्ती अन्त्य हुने अपेक्षा गरिएको छ ।