भोजपुर । बाँदरको बढ्दो उपद्रवका कारण परम्परागत खाद्यबाली खेती गर्न समस्या हुन थालेपछि भोजपुरका किसान अदुवाखेतीतर्फ आकर्षित हुन थालेका छन्। बाँदरले मकै, कोदो, धानलगायतका बाली नष्ट गर्न थालेपछि किसानले अदुवाखेतीलाई वैकल्पिक तथा आम्दानीको स्रोतका रूपमा अपनाउन थालेका हुन्।
भोजपुर नगरपालिका–६ की किसान गीता खड्काले बाँदरको समस्या बढ्दै गएपछि अदुवाखेती सुरु गरेको बताइन्। जमिनमुनि फल्ने भएकाले अदुवा बाँदरबाट सुरक्षित रहने उनको भनाइ छ। व्यावसायिक रूपमा खेती गर्न सके परम्परागत खाद्यबालीको तुलनामा अदुवाबाट राम्रो आम्दानी लिन सकिने उनले बताइन्।
बाँदरबाट अन्य बाली जोगाउन निकै कठिन हुने भए पनि अदुवाखेतीमा त्यस्तो समस्या कम हुने भएकाले आफू यसतर्फ आकर्षित भएको खड्काले बताइन्। बाँदरको आतंकका कारण खेतीपाती गर्न समस्या भोगिरहेका किसानका लागि अदुवा उपयुक्त विकल्प बन्न सक्ने उनको भनाइ छ।
त्यस्तै, अर्की किसान सावित्रा पोखरेलले करिब डेढ रोपनी क्षेत्रफलमा अदुवाखेती गरिरहेकी छन्। आगामी दिनमा खेतीको क्षेत्रफल थप विस्तार गर्ने उनको योजना छ। बाँदरको समस्याले अन्य खाद्यबाली लगाउन कठिन भएपछि अदुवाखेतीलाई प्राथमिकता दिएको उनले बताइन्।
पोखरेलका अनुसार स्थानीय बजारमा अदुवा प्रतिकिलो १०० देखि १२० रुपैयाँसम्ममा बिक्री हुने गरेको छ। अदुवालाई सुकाएर धुलो बनाई बिक्री गर्न सकिने भएकाले बजार व्यवस्थापनमा समेत सहजता रहेको उनको भनाइ छ। ताजा अदुवाका साथै धुलो बनाएर पनि बिक्री गर्न सकिने हुँदा उत्पादन खेर जाने जोखिम कम रहेको उनले बताइन्।
ग्रामीण क्षेत्रमा बाँदरको बढ्दो समस्या कृषि उत्पादनका लागि चुनौती बन्दै गएको छ। खेतबारीमा लगाइएका धान, मकै, कोदोलगायतका बाली नष्ट हुन थालेपछि किसान परम्परागत खेतीबाट विकल्प खोज्न बाध्य भइरहेका छन्।
स्थानीय बजारमा अदुवाको माग र मूल्य राम्रो रहेकाले यसको व्यावसायिक उत्पादन विस्तार गर्न सके किसानको आम्दानी बढाउन सकिने कृषि क्षेत्रका जानकारहरूको भनाइ छ।