सुनसरी– भारतको अक्वा एफसी झारखण्डलाई ७–० गोलअन्तरले पराजित गर्दै सशस्त्र प्रहरी बल (एपीएफ) फुटबल क्लब प्रथम धरान अन्तर्राष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
धरानमा शनिबारदेखि सुरु भएको रात्रिकालीन प्रतियोगिताको उद्घाटन खेलमा एपीएफले एकपक्षीय जित निकालेको हो। एपीएफको जितमा पूर्णिमा राईले चार गोल गरिन् भने रश्मिकुमारी घिसिङले दुई गोल गरिन्। एक गोल भने अक्वा एफसीका खेलाडीबाट आत्मघाती भएको थियो।
खेलको १८औँ मिनेटमा पूर्णिमाले गोल गर्दै एपीएफलाई अग्रता दिलाएकी थिइन्। त्यसको चार मिनेटपछि अक्वाका खेलाडीबाट आत्मघाती गोल भएपछि एपीएफले अग्रता २–० बनायो। २९औँ मिनेटमा रश्मिकुमारीले गोल थपेपछि पहिलो हाफमा एपीएफ ३–० ले अघि रह्यो।
दोस्रो हाफमा पनि एपीएफले आक्रामक खेललाई निरन्तरता दियो। खेलको ५८औँ मिनेटमा पूर्णिमाले व्यक्तिगत दोस्रो गोल गरिन्। त्यसको चार मिनेटपछि नै हेडमार्फत गोल गर्दै उनले ह्याट्रिक पूरा गरिन्। ७८औँ मिनेटमा पूर्णिमाले व्यक्तिगत चौथो गोल थपिन्। खेल सकिन एक मिनेट बाँकी रहँदा रश्मिकुमारीले व्यक्तिगत दोस्रो गोल गरेपछि एपीएफ ७–० को फराकिलो जित निकाल्न सफल भयो।
खेलकी उत्कृष्ट खेलाडी (म्यान अफ दी म्याच) एपीएफकी पूर्णिमा राई घोषित भइन्। उनले नगद १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन्। पुरस्कार आयोजक फुटबल क्लबका अध्यक्ष तथा प्रतियोगिता संयोजक सन्तोष राईले प्रदान गरेका थिए।
प्रतियोगिताअन्तर्गत आज आइतबार आयोजक स्वर्णिम फुटबल क्लब धरान र गाईघाट फुटबल क्लब उदयपुरबीच प्रतिस्पर्धा हुनेछ।
डी–१९ क्लब धरान–१९ र स्वर्णिम फुटबल क्लबको संयुक्त आयोजनामा सुरु भएको प्रतियोगिता आगामी मङ्सिर ५ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा भारतसहित आठ टोलीको सहभागिता रहेको छ।
प्रतियोगिताको विजेताले पाँच लाख रुपैयाँसहित ट्रफी र उपविजेताले तीन लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। प्रत्येक खेलको उत्कृष्ट खेलाडीलाई १० हजार रुपैयाँ प्रदान गरिनेछ। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले विद्युतीय स्कुटर पाउनेछन् भने व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीलाई जनही १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।