सत्तारुढ सांसद गणेश कार्कीले टर्किएमा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा जाने मन्त्री, सांसद र अन्य व्यक्तिको खर्चमाथि प्रश्न उठाएका हुन्।
कोपमा जानेहरूले कताबाट खर्च बेहोरेका हुन् भन्ने कुराको घोषणा गर्नुपर्ने सांसद कार्कीको माग छ । ‘कोपमा जानेहरू दर्जनौँ हुन्छन् । साह्रै धेरै व्यक्तिगत खर्चमा, कुनै संस्थाको प्रायोजनमा कोपमा पुग्छन् । हामी वातावरणका विद्यार्थीहरु कोपकाबारेमा यति धेरै पढ्छौँ कि एकपल्ट गएर हेरौँ भन्ने हुन्छ । देख्न पाइने र सिक्न पाइने कुरा असाध्यै धेरै हुन्छ कोपमा । तर त्यसो भन्दैमा व्यक्तिगत इच्छालाई सरकारी खर्चमा दपेट्न कसैले पनि पाइँदैन । अनि अहिलेको समयमा निर्णय वा छलफलको प्रक्रियामा प्रत्यक्ष सहभागी नहुने हो भने त नजाँदैमा देख्न र बुझ्न नपाइने होइन’, कार्कीले भनेका छन्, ‘सँधै झै यसपाली पनि कोपमा जानेहरुको लर्को छ । वातावरणको विद्यार्थी र सांसद पनि भएकाले हो कि धेरै साथीहरु कोपका लागि टर्किए पुगेको, पुग्दै गरेको देख्छु । जानेहरूले आफु सरकारी खर्चमा गएका हुन् कि होइनन् भन्ने सार्वजनिकरूपमा घोषणा गरुन् । गर्नै पर्छ ।’
यसपटक कोपमा सहभागी हुन मन्त्रीहरु, रास्वपाका सांसद र नेता तथा कार्यकर्ताको ठूलो संख्या टर्किए पुगेको छ ।