काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले डिजिटल विभेद अन्त्य गर्दै सबै नागरिकमा सूचना प्रविधि र दूरसञ्चार सेवाको पहुँच विस्तार गर्न प्रविधिमा अग्रणी देशहरूसँग सहकार्य आवश्यक रहेको बताएका छन् ।
अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू) को प्लेनिपोटेन्सियरी सम्मेलन सकेर शुक्रबार स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रविधिको तीव्र विकाससँगै नेपालले अन्तर्राष्ट्रिय साझेदारी विस्तार गर्नुपर्ने बताएका हुन् ।
विभिन्न कारणले नागरिकको प्रविधिमा पहुँच सीमित भइरहेको उल्लेख गर्दै उनले त्यसलाई विस्तार गर्ने विषयमा विभिन्न देशसँग द्विपक्षीय छलफल भएको जानकारी दिए । सम्मेलनमा नेपालले विशेषगरी डिजिटल विभेद न्यूनीकरण, उदीयमान प्रविधि र विपद्का बेला सञ्चार प्रणालीको निरन्तरताका विषयलाई प्राथमिकताका साथ उठाएको उनले बताए ।
बाढी, पहिरो र भूकम्पजस्ता विपद्का समयमा सञ्चार सेवाको महत्त्व अझ बढ्ने भएकाले प्रणालीलाई विपद् प्रतिरोधी बनाउनुपर्ने नेपालको धारणा रहेको उनले बताए । करिब ५० देशका मन्त्री तथा प्रतिनिधिमण्डल प्रमुख सहभागी उच्चस्तरीय छलफलमा नेपालले तीन मिनेटको नीतिगत धारणा प्रस्तुत गरेको थियो ।
त्यस्तै, कृत्रिम बुद्धिमत्ता (एआई) लगायत उदीयमान प्रविधिको उपयोगबाट डिजिटल विभेद कसरी घटाउने र नेपालजस्ता विकासोन्मुख देशले नयाँ प्रविधिबाट कसरी लाभ लिन सक्छन् भन्ने विषयमा पनि नेपालले आफ्नो धारणा राखेको उनले जानकारी दिए । जलवायु परिवर्तनका जोखिम न्यूनीकरण, विकासशील देशलाई विकसित राष्ट्रले गर्नुपर्ने सहयोग र त्यसमा आईटीयूको भूमिकाबारे समेत छलफल भएको उनको भनाइ छ ।
तिमिल्सिनाका अनुसार नेपालले पहिलोपटक करिब ४८ देशका मन्त्री तथा प्रतिनिधिमण्डल प्रमुख सहभागी उच्चस्तरीय कार्यक्रमको अध्यक्षता तथा सहजीकरण गर्ने अवसर पाएको छ । करिब तीन हजार सहभागी सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनले नेपालको आधिकारिक नीतिगत वक्तव्य प्रस्तुत गरेका थिए ।
सम्मेलनले सन् २०२८ देखि २०३१ सम्मका लागि अन्तर्राष्ट्रिय दूरसञ्चार क्षेत्रको नीतिगत तथा वित्तीय दिशानिर्देश तय गर्ने अपेक्षा गरिएको छ । सम्मेलनमा विभिन्न उच्च नेतृत्व पदका लागि निर्वाचन प्रक्रिया पनि अघि बढिरहेको उनले बताए ।
नेपालसँग कृत्रिम बुद्धिमत्ता, कम्प्युटिङ क्षमता र वित्तीय स्रोत सीमित भए पनि त्यसकै कारण नेपाली नागरिक नयाँ प्रविधिको लाभबाट वञ्चित हुन नहुने तिमिल्सिनाको भनाइ छ । डिजिटल विभेद अन्त्य गर्दै दूरसञ्चार तथा सूचना प्रविधिको समान पहुँच विस्तार गर्न अन्तर्राष्ट्रिय सहकार्य र आईटीयूको भूमिका थप प्रभावकारी हुनुपर्नेमा उनले जोड दिए ।