काठमाडौं । काठमाडौं महानगरपालिकाले चोरी भएर विदेश पुगेका नेपाली धार्मिक तथा सांस्कृतिक सम्पदाको पहिचान गरी स्वदेश फिर्ता ल्याउन अभिलेखीकरण, जनचेतना र समुदायको क्षमता अभिवृद्धिलाई प्राथमिकतामा राख्ने भएको छ ।
महानगरपालिकाले सम्पदा फिर्तीको अभियानलाई संस्थागत र प्रभावकारी बनाउन कूटनीतिक माध्यम, अन्तर्राष्ट्रिय संघसंस्था तथा विदेशमा रहेका नेपाली समुदायसँगको सहकार्यलाई थप व्यवस्थित गर्ने जनाएको छ ।
शुक्रबार महानगरपालिकामा आयोजित कार्यक्रममा कार्यवाहक प्रमुख सुनिता डंगोलले सम्पदा संरक्षण भनेको भएका सम्पदाको भौतिक संरक्षण मात्रै नभई चोरी तथा अवैध ओसारपसार रोक्नु र विदेश पुगेका सम्पदालाई पहिचान गरी पुरानै स्थानमा पुनःस्थापना गर्नु पनि भएको बताइन । यसका लागि सम्पदाको विस्तृत अभिलेखीकरण र चोरी भएका सम्पदाबारे प्रहरीमा औपचारिक उजुरी गर्ने अभ्यासलाई प्रोत्साहन गरिने उनको भनाइ छ ।
विदेशका विभिन्न संग्रहालयमा नेपाली सम्पदा रहेको जानकारी पाए पनि ती कहाँबाट चोरी भएका हुन् भन्ने प्रमाण जुटाउन कठिन हुने गरेको डंगोलले बताइन । विगतमा एउटा पुरानो तस्बिरकै आधारमा महागौरीको मूर्ति पहिचान गरी फिर्ता ल्याउन र पुनःस्थापना गर्न सफल भएको उदाहरण दिँदै उनले सम्पदाको तस्बिर, श्रव्यदृश्य सामग्री र आवश्यक विवरण सुरक्षित राख्नुपर्नेमा जोड दिइन् ।
धार्मिक सम्पदा हराउँदा प्रहरीमा उजुरी गर्ने अभ्यास कमजोर रहेको भन्दै उनले तलेजु भवानीको हार फिर्ता ल्याउने प्रयासका क्रममा प्रहरीमा गरिएको उजुरीको प्रमाण मागिए पनि त्यसबेला उजुरी गर्नुपर्ने चेतना नहुँदा आवश्यक प्रमाण जुटाउन कठिन भएको बताइन । मानिस हराउँदा प्रहरीमा उजुरी गर्ने प्रचलन भए पनि धार्मिक सम्पदा हराउँदा औपचारिक जानकारी गराउने अभ्यास विगतमा कम रहेको उनको भनाइ छ ।
महानगरले सम्पदा संरक्षणसम्बन्धी जनचेतना अभियान जनप्रतिनिधि र कर्मचारीबाट सुरु गरी नगर प्रहरी, फिल्डमा खटिने जनशक्ति, गुठी, संघसंस्था, टोल सुधार समिति तथा स्थानीय समुदायसम्म विस्तार गर्ने भएको छ । विशेषगरी सामान्य प्राविधिक ज्ञानको अभावमा सम्पदामा क्षति पुग्न सक्ने भएकाले कर्मचारीलाई संरक्षणका सही विधि र प्रक्रियाबारे तालिम दिइने डंगोलले बताइन ।
सम्पदामा रङ लगाउने, चुनाको प्रयोग गर्ने वा नगर्ने तथा चैत्यको संरचना र धार्मिक महत्त्व बुझ्नेजस्ता विषयमा फिल्डमा काम गर्ने कर्मचारीलाई प्रशिक्षित गरिनेछ । यसका लागि प्राविधिक विज्ञ र सम्पदा संरक्षणमा क्रियाशील संस्थाको सहयोग लिइने महानगरले जनाएको छ ।
सम्पदा संरक्षणमा स्थानीय समुदायको अपनत्व र सक्रियता महत्त्वपूर्ण हुने उल्लेख गर्दै डंगोलले सीसीटीभी क्यामेराबाट मात्रै सम्पदाको सुरक्षा सम्भव नहुने बताइन । सम्पदा रहेका क्षेत्रका बासिन्दा नै सचेत र जिम्मेवार भए संरक्षण प्रभावकारी हुने उनको भनाइ छ । महानगरले यसका लागि समुदायको क्षमता अभिवृद्धि कार्यक्रमसमेत सञ्चालन गर्ने जनाएको छ ।
सम्पदा संरक्षणमा प्राविधिक सहयोग गर्दै आएको नमुना फाउन्डेसनसँगको सहकार्यलाई पनि निरन्तरता दिइने महानगरले जनाएको छ । डंगोलले सम्पदा संरक्षणलाई नीतिगत दस्तावेज र समझदारीमा मात्रै सीमित नराखी व्यवहारमै कार्यान्वयन गर्नुपर्ने बताइन ।
महानगरले यसअघि कार्यान्वयनमा रहेको ‘सम्पदा नगर प्रहरी’ अवधारणालाई थप विस्तार गर्दै सम्पदाको सुरक्षा र निगरानीमा नगर प्रहरीलाई परिचालन गर्ने भएको छ । चोरी भएका सम्पदाको पहिचान, अवैध ओसारपसार नियन्त्रण, विदेशबाट फिर्ती, पुरानै स्थानमा पुनःस्थापना र दीर्घकालीन संरक्षणलाई चरणबद्ध रूपमा अघि बढाइने महानगरले जनाएको छ ।