बेथितिका विषयमा प्रश्न उठाउने पत्रकार । विकृति र विसंगतीमाथि ठाडो प्रश्न गर्ने सञ्चार माध्यम र फोहोरी राजनीतिबारे कलम चलाउने सञ्चारकर्मी बुधवार चुनावी मैदानमा उत्रिए । उम्मेदवार र मतदाता दुबैलाई चुनावले चपक्कै पार्यो । बुधवार देशभर मतदान भयो । उम्मेदवार छनौट, उम्मेदवारको पृष्ठभूमि, चुनाव प्रचार शैली र मतदान प्रणालीबारे धेरैले प्रश्न उठाए । केहीले दलीय सिन्डिकेटविरुद्ध उम्मेदवारी दिने साहस गरे पनि अन्तिमसम्म टिक्न सकेनन् । दलीय सिन्डिकेट विरुद्ध खडा भएकाहरू अन्ततः घुँडा टेके । य विषयमा यसअघिको शृङ्खलामै चर्चा गरिसका छौँ ।
निर्वाचनपछि विभिन्न जिल्लको नतिजा आउन थालिसकेको छ । मतगणना जारी छ । हालसम्म प्राप्त मतपरिणाम अनुसार अधिकांशमा प्यानल नै विजयी भएका छन् । अन्तिमसम्म टिकेका स्वतन्त्र उम्मेदवारले न्यून मत ल्याएका छन् । हुन तः अन्तिम नजिता नआइसकेकोले यसबारे अहिले नै टिप्पणी गर्न हतार हुन्छ होला । तर, बिहानीले दिउँसो सङ्केत गर्छ भनेझैँ प्रारम्भिक रुझा नले स्पष्ट सङ्केत गरिसकेको छ । यस पटक पनि दलीय प्यानल नै विजयी हुनेछन् । यसले पत्रकार महासंघमा दलीय सिन्डिकेटविरुद्ध उठेका आवाजहरू कमजोर देखाएका छन् । पूर्ण नतिजा आइसकेपछि यसबारे विस्तृत चर्चा गर्न उपयुक्त होला ।
बुधवार मतदानको क्रममा मतदान केन्द्रमा अनौठा दृश्य देखिए । सबैभन्दा बढी मतदाताले धेरैजसो उम्मेदवारलाई चिन्न सकेनन् । केही नाम नचलेका उम्मेदवार बाहेक अधिकांश उम्मेदवार र मतदाता मतदान स्थलमै चिनजान गर्दै गरेका देखिए । भोट माग्न उम्मेदवार र तिनका समर्थकले विभिन्न पर्चा पम्पलेट बाँडे । काठमाडौँ उपत्यकामा सबैभन्दा बढी मतदानको भिडभाड थियो, त्यसमा पनि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा । त्यहाँ जति धेरै मान्छेहरू थिए त्योभन्दा कयौँ बढी पर्चा पम्पलेट बाँडियो । कमलादी प्रचार सामग्रीमय बन्यो । तर ती पर्चा उम्मेदवारको हातबाट मतदाताको हातमा भने अटाउन सकेनन् । मतदान चल्दै गर्दा उम्मेदवारका प्रचार सामग्रीले कमलादी परिसर फोहोर बन्यो । प्रचार सामग्रीले ढाक्यो कमलादीको भुईँ । छरपस्ट पर्चाले कमलादीमा पत्रकारलाई गिज्याइरह्यो । तर पनि उम्मेदवारले बाँड्न र मतदाताले फोहोर गर्न छोडेनन् ।
‘सामान्यतः पत्रकारले अरूलाई प्रश्न गर्छ’ । पत्रकारले प्रश्न मात्र गर्ने ? जबाफदेही चाहिँ हुनुपर्दैन ? कमलादीमा छोडिएका पर्चा पम्पलेटले कति प्रश्न गरे होलान् ? कति चिच्याएर होलान् । कति कराए होलान् ? सार्वजनिक सरोकारका विषयमा प्रश्न उठाउने पत्रकारले यसको जवाफ दिएनन् ।
बेलाबखत पत्रकारप्रति थरिथरिका प्रश्न तेर्सिन्छन् । तर ती प्रश्नको जवाफ नआउँदै प्रश्न ओझेलमा पर्छन् । जस्तो मनोनयनमा टिकट वितरणका विषयमा प्रश्न उठ्यो चुनाव सकिएपछि अब सेलायो । अब सायद अर्को चुनाव नआउन्जेल उठ्नेछैन ।
बुधवार कमलादीमा देखिएको फोहोरले पनि पत्रकारमाथि कयौँ प्रश्न उठाएको छ । अरूलाई जबाफदेही बन्न घच्घच्याउने पत्रकार आफैले नैतिकता बिर्सेर फोहोर गरे । पर्चा पम्पलेट फ्याके । कसले फोहोर उठाए ? आफैले गरेको फोहोरका विषयमा कतिले समाचार लेखे, छापे ? कमलादीमा पत्रकार बाहेकका मानिसहरुका पनि बुधवार कमलादी पुगे होलान् । उनीहरूले के सोचे ? पत्रकारका विषयमा के मूल्याङ्कन गरे ? पत्रकारको आनीबानीबारे के के भने होलान् ? आचरण र शिष्टताका विषयमा प्रश्न गरे होलान् कि गरेनन् होलान् ?
भिडिओ