काठमाडौं । यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन भाइटीका पर्व आज हर्षोल्लासका साथ मनाइँदैछ। यस अवसरमा काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा बिहानैदेखि भाइटीका लगाउनेको घुइँचो लागेको छ।
आफ्ना दिदीबहिनी नभएका तथा विभिन्न कारणले भाइटीका लगाउन नपाएकाहरूले बालगोपालेश्वर मन्दिर पुगेर टीका र माला ग्रहण गर्ने परम्परा छ। वर्षमा भाइटीकाका दिन मात्रै खुल्ने उक्त मन्दिर आज बिहानैदेखि सर्वसाधारणका लागि खुला गरिएको हो।
भाइटीकाका अवसरमा दिदीबहिनीले दाजुभाइलाई सप्तरङ्गी टीका र सयपत्री तथा मखमली फूलको माला लगाइदिएर पर्व मनाउने गर्छन्। दाजुभाइ र दिदीबहिनीबीचको प्रेम, आत्मीयता र आपसी सम्बन्ध प्रगाढ बनाउने पर्वका रूपमा भाइटीका मनाइन्छ।