काठमाडौं: अमेरिकामा बेपत्ता भएकी नेपाली मूलकी नर्स ममता काफ्ले भट्टको हत्या मुद्दामा उनका पति नरेश भट्ट दोषी ठहर भएका छन्। भर्जिनियास्थित अदालतले मंगलबार छ हप्ता लामो सुनुवाइपछि नरेशलाई ‘फर्स्ट-डिग्री मर्डर’ अर्थात् प्रथम श्रेणीको हत्याको आरोपमा दोषी ठहर गरेको हो। अदालतले उनलाई शवको अपमान गरेको र त्यसलाई लुकाएको अभियोगमा पनि दोषी पाएको छ।
सुनुवाइको क्रममा नरेशले ममता बेडरुममा मृत अवस्थामा फेला परेको र आफूले शव व्यवस्थापन मात्र गरेको दाबी गरेका थिए। तर सरकारी वकिलले नरेशको भनाइलाई आधारहीन भन्दै अस्वीकार गर्न जुरीलाई आग्रह गरेका थिए। वरिष्ठ सहायक कमनवेल्थ्स अटर्नी सारा सामीले प्रतिवादीले ममताको हत्या गरी उनको शरीर टुक्रा-टुक्रा पारेर फोहोर फाल्ने ठाउँमा फालिदिएको बताएकी छिन्।
सामीले भनिन्, ‘प्रतिवादीले ममता काफ्लेको हत्या गरे, उनको शरीर टुक्राटुक्रा पारे र फोहोरजस्तै फाले।’ उनले थपिन्, ‘उनले भर्जिनियाको लुरायस्थित फोहोर फाल्ने ठाउँलाई नै ममताको अन्तिम विश्रामस्थल बनाइदिए। पीडित परिवारका लागि ममता सधैँ हराइरहेकी हुनेछिन्। उनी अब जीवित छैनन्, तर उनी अझै पनि हराएकी छिन्, किनभने परिवारले कहिल्यै उनको अन्त्येष्टि वा अन्तिम संस्कार गर्न पाउने छैन। उनी टुक्रा-टुक्रा भएर कतै फोहोरको थुप्रोमा थिचिएर रहेकी छन्। यो परिवारले अब यही यथार्थसँग बाँच्नुपर्नेछ।’
प्रथम श्रेणीको हत्याको कसुरमा भट्टलाई कम्तीमा २० वर्षदेखि आजीवन कारावाससम्मको सजाय हुन सक्ने कानुनी व्यवस्था छ। यसबाहेक शव लुकाएको र अपवित्र पारेको प्रत्येक कसुरमा पाँच-पाँच वर्षसम्मको कैद सजाय हुन सक्छ। अदालतले मार्च महिनामा उनलाई हुने अन्तिम सजाय निर्धारण गर्नेछ। फैसला सुनाइँदा अदालत बाहिर भेला भएका ममताका साथी र स्थानीय नेपाली समुदायले निर्णयको स्वागत गरेका छन्।