जुम्ला । जुम्लाका ग्रामीण क्षेत्रमा परम्परागत पानीघट्ट लोप हुँदै जान थालेका छन् । गाउँघरमा विद्युत्बाट सञ्चालन हुने आधुनिक मिलको प्रयोग बढेसँगै पानीको सहायताले चल्ने परम्परागत घट्ट सङ्कटमा पर्न थालेका हुन् ।
पातारासी गाउँपालिका–१ का स्थानीय गोविन्द बुढाका अनुसार पहिले गाउँघरका खोलाको पानीबाट सञ्चालन हुने घट्टमा स्थानीयवासीले मकै, गहुँ, जौ, कोदो र फापरलगायत अन्न पिस्ने गर्थे । तर, आधुनिक विद्युतीय मिलको पहुँच विस्तार भएसँगै पानीघट्टको प्रयोग घट्दै गएको छ ।
कुनै समय ग्रामीण जीवनको अभिन्न हिस्सा रहेका पानीघट्ट अन्न पिस्ने साधन मात्र थिएनन्, गाउँको आत्मनिर्भरता र परम्परागत जीवनशैलीका महत्वपूर्ण आधारसमेत थिए । स्थानीय खोलाको पानी उपयोग गरेर सञ्चालन हुने यस्ता घट्टले ग्रामीण समुदायको दैनिक जीवन सहज बनाएका थिए ।
सिञ्जा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालका अनुसार गाउँमा विद्युत्, सडक तथा आधुनिक प्रविधिको पहुँच विस्तार भएसँगै पानीघट्टको प्रयोग क्रमशः घट्दै गएको हो ।
उनका अनुसार अहिले कतिपय स्थानमा पुराना पानीघट्टलाई सुधार गरी आधुनिक प्रविधिअनुसार अन्न पिस्ने, तेल निकाल्ने र काठ चिर्नेसमेत काम गर्न सक्ने गरी सञ्चालनमा ल्याइएको छ । यसले परम्परागत पानीघट्टको मौलिक स्वरूप हराउँदै गएको छ ।
कुनै समय जुम्लाका अधिकांश गाउँमा प्रचलनमा रहेका पानीघट्ट अहिले कतिपय स्थानमा देख्नसमेत मुस्किल हुन थालेका छन् । पानीघट्ट लोप हुँदै जाँदा यसको निर्माण, सञ्चालन र प्रयोगसँग सम्बन्धित परम्परागत सीप तथा ज्ञानसमेत नयाँ पुस्ताबाट टाढिँदै गएको अध्यक्ष धितालले बताए ।