काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुको ब्यागेज व्यवस्थापन प्रक्रियालाई थप पारदर्शी र व्यवस्थित बनाउन ‘लाइभ फिड’ सेवा सुरु गरिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार विमानस्थलको यात्रु आगमन कक्षस्थित लगेज सङ्कलन क्षेत्रमा उक्त सेवा सञ्चालनमा ल्याइएको हो ।
नयाँ व्यवस्थाअनुसार अन्तरराष्ट्रिय उडानमार्फत नेपाल आउने यात्रुले विमानबाट झारिएको आफ्नो सामान ब्यागेज बेल्टसम्म आइपुग्ने प्रक्रियालाई प्रत्यक्ष रूपमा हेर्न सक्नेछन् ।
यस सेवाले यात्रुलाई आफ्नो सामानको अवस्थाबारे जानकारी लिन सहज बनाउनुका साथै ब्यागेज प्राप्त गर्न लाग्ने समयको अनुमान गर्न पनि मद्दत पुग्ने अपेक्षा गरिएको छ ।
लाइभ फिडमार्फत आगमन कक्षबाटै ब्यागेज ड्रप क्षेत्रमा भइरहेका गतिविधि हेर्न सकिने भएपछि यात्रुको प्रतीक्षा समयलाई थप सहज र व्यवस्थित बनाउन सहयोग पुग्ने विश्वास मन्त्रालयले लिएको छ ।
यात्रु सेवाको गुणस्तर सुधार, सेवा प्रवाहमा पारदर्शिता अभिवृद्धि तथा आधुनिक प्रविधिको प्रयोग गर्दै विमानस्थललाई अन्तरराष्ट्रिय मापदण्डअनुरूप विकास गर्ने उद्देश्यले यो व्यवस्था लागू गरिएको मन्त्रालयले जनाएको छ ।