तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाका प्रमुख संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाको प्याकेज–२ अन्तर्गत भूमिगत विद्युत्गृह, सुरुङ तथा आवश्यक उपकरण जडानको काम करिब ८० प्रतिशत सम्पन्न भएको हो ।
प्याकेज–२ को निर्माण चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेसनले गरिरहेको छ । आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार भूमिगत संरचना निर्माणका लागि आवश्यक उत्खननको काम पूरा भइसकेको छ भने अधिकांश संरचनाको सिभिल निर्माण सम्पन्न भएको छ ।
भूमिगत विद्युत्गृह, टेलरेस सुरुङ, केबल सुरुङ, सर्ज साफ्ट, इन्टेक, ड्राफ्टट्युब सुरुङ तथा पेनस्टकको ब्याकफिल कङ्क्रिटिङलगायत प्रमुख संरचनामा उत्खनन र कङ्क्रिटिङको काम लगभग सकिएको छ । मुख्य सुरुङको कङ्क्रिट लाइनिङ गर्ने काम पनि अन्तिम चरणमा पुगेको भण्डारीले जानकारी दिए ।
यसैगरी, भूमिगत विद्युत्गृहमा विद्युत् उत्पादनका लागि आवश्यक उपकरण जडान तथा परीक्षणको काम भइरहेको छ । विद्युत्गृहमा जेनेरेटर, टर्बाइन, सिसिटिभी, ट्रान्सफर्मरलगायत इलेक्ट्रोमेकानिकल उपकरण जडान गर्ने कार्य अघि बढाइएको उनले बताए ।
आयोजनाका अनुसार वातावरणीय बहाव व्यवस्थापनका लागि निर्माण गरिने संरचना तथा बाँध सञ्चालन भवनको निर्माणसमेत जारी छ । सिभिल संरचनाको निर्माणसँगै उपकरण जडान र परीक्षणको कामलाई पनि समानान्तर रूपमा अघि बढाइएको छ ।
प्याकेज–२ अन्तर्गतका संरचना निर्माण र उपकरण जडानको काम सम्पन्न भएपछि आयोजनाको विद्युत् उत्पादन प्रणाली सञ्चालनका लागि आवश्यक पूर्वाधार तयार हुनेछ ।