झापा । गत वर्ष सानो माईखोलामा आएको बाढीले झापा गाउँपालिका–१ का ६५ वर्षीय राजु अग्रवालको दुई बिघा उर्वर धानखेत बगाएर बगरमा परिणत गरिदियो । धान फल्ने खेत बालुवाले पुरिएपछि उनी निराश भए । तर, समस्यासँग हार नमानी नयाँ सम्भावनाको खोजीमा जुटेका अग्रवालले त्यही बगरमा बदाम खेती सुरु गरे ।
अहिले त्यही खेतमा २० क्विन्टल बदाम उत्पादन भएपछि अग्रवाल उत्साहित छन् । उनले उत्पादन गरेको बदाम प्रतिकेजी १०४ रुपैयाँका दरले बिक्री भइरहेको छ ।
‘धान फल्ने खेत बगरमा परिणत हुँदा दुःख लाग्नु स्वाभाविक थियो,’ अग्रवालले भने, ‘बाढीले ठूलो क्षति पुर्याए पनि हिम्मत हारिनँ । त्यसपछि उक्त जमिनमा कुन खेती गर्न सकिन्छ भनेर खोजी गर्न थालेँ । बदाम खेती सम्भव हुने थाहा पाएपछि नयाँ प्रयास सुरु गरेँ ।’
उनले सुरुमा भारतीय बजारबाट १० किलो बदामको बीउ ल्याएर पाँच कट्ठा जमिनमा परीक्षणका रूपमा खेती गरेका थिए । परीक्षण सफल भएपछि खेती विस्तार गर्दै दुई बिघा क्षेत्रफलमा पुर्याएका हुन् ।
सामान्यतया पहाडी क्षेत्रमा बढी गरिने बदाम खेती झापाजस्तो तराई क्षेत्रमा पनि सफल भएपछि अग्रवालको प्रयास उदाहरणीय बनेको छ । कृषि प्राविधिकको सुझावअनुसार उनले सुरु गरेको खेती अहिले राम्रो उत्पादन दिन सफल भएको छ ।
अग्रवालका अनुसार धानलगायत परम्परागत बालीको तुलनामा बदाम खेतीबाट राम्रो आम्दानी गर्न सकिने सम्भावना छ । जेठमा रोपिएको बदाम कात्तिकमा तयार हुने भएकाले अहिले उनलाई बाली भित्र्याउने चटारो छ । लहरे प्रकृतिको यस बालीबाट यस वर्ष राम्रो आम्दानी हुने उनको अपेक्षा छ ।
झापा गाउँपालिकाकी कृषि प्राविधिक रीता बर्देवाका अनुसार तराईको न्यानो हावापानी तथा खुकुलो, हलुका र बलौटे दोमट माटो बदाम उत्पादनका लागि उपयुक्त हुन्छ ।
स्वादका लागि लोकप्रिय बदाम स्वास्थ्यका दृष्टिकोणले पनि निकै गुणकारी मानिन्छ । बाढीले खेत बगरमा परिणत गरेपछि निराश बनेका अग्रवालले नयाँ खेतीको प्रयोगमार्फत त्यही जमिनलाई आम्दानीको स्रोतमा बदल्न सफल भएका छन् ।