काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भई कैद सजाय भोगिरहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी रिहा हुने भएका छन् ।
६५ वर्ष उमेर पूरा हुन लागेकाले ज्येष्ठ नागरिकका रूपमा पाउने कैद छुटको सुविधा माग गर्दै रायमाझीले अदालतमा निवेदन दिएका थिए । सोही निवेदनका आधारमा काठमाडौँ जिल्ला अदालतले उनलाई कैदमुक्त गर्न कारागार कार्यालय डिल्लीबजारलाई पत्राचार गरेको हो ।
डिल्लीबजार कारागारका जेलर बाबुराम अर्यालले अदालतबाट संशोधित कैदीपुर्जी प्राप्त भएको पुष्टि गरेका छन् । उनका अनुसार संशोधित कैदीपुर्जीमा रायमाझीलाई कात्तिक २६ गते रिहा गर्ने उल्लेख छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका रायमाझी २०८० वैशाख २० गते पक्राउ परेका थिए । काठमाडौँ जिल्ला अदालतले २०८३ असार ३० गते उनलाई चार वर्ष कैद सजाय सुनाएको थियो ।
रायमाझीले कात्तिक २५ गते ६५ वर्ष उमेर पूरा गर्दैछन् । ज्येष्ठ नागरिकसम्बन्धी कानुनी व्यवस्थाअनुसार ६५ वर्ष उमेर पूरा भएका कैदीलाई तोकिएको कैद सजायमा २५ प्रतिशत छुट दिने प्रावधान छ । सोही व्यवस्थाअनुसार उनको कैद अवधि घटाइएपछि रिहाइको प्रक्रिया अघि बढाइएको हो ।