सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरुचेमा दुई हेलिकप्टर आपसमा ठोक्किँदा एक भारतीय नागरिकको मृत्यु भएको छ भने दुई पाइलटसहित तीन जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार दुर्घटनामा भारतको तमिलनाडु राज्यको चेन्नई निवासी ४७ वर्षीय वसन्तकुमार बलरामुडुको मृत्यु भएको हो। दुर्घटनापछि प्रभु एयरको हेलिकप्टरमार्फत उनको शव उद्धार गरी लुक्ला ल्याइएको प्रहरीले जनाएको छ।
दुर्घटनामा फिस्टेल एयरका पाइलट रवीन्द्र प्रजापति, डाइनेस्टी एयरका पाइलट प्रजल केसी र भारतीय मूलका न्युजिल्यान्डका नागरिक ४९ वर्षीय सेलिसकिसन पटेल घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी प्रहरी निरीक्षक मौसम तामाङका अनुसार घाइते तीनै जनालाई प्रभु एयरको हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि ललितपुरस्थित मेडिसिटी अस्पताल पुर्याइएको छ।
फिस्टेल एयरको हेलिकप्टरमा चालक दलका सदस्यसहित तीन जना सवार रहेको बताइएको छ।
मंगलबार बिहान करिब ८:१० बजे फेरुचेस्थित हेलिप्याडमा अवतरण गर्ने क्रममा फिस्टेल एयर र डाइनेस्टी एयरका हेलिकप्टर एकापसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।