काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबार भएका खेलमा काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्स विजयी भएका छन्। काठमाडौंले कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दा सुदूरपश्चिमले चितवन राइनोजमाथि ५ विकेटको जित निकालेको छ।
काठमाडौंको पहिलो जित, कर्णालीको अपराजित यात्रा समाप्त
काठमाडौं गोर्खाजले जारी एनपीएलमा पहिलो जित दर्ता गरेको छ। सोमबार भएको दिनको पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराउँदै काठमाडौंले दोस्रो खेलमा जितको खाता खोलेको हो।
कर्णालीले दिएको १८१ रनको लक्ष्य काठमाडौंले १९.४ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो। काठमाडौंको जितमा राशिद खान र करण केसीले महत्त्वपूर्ण योगदान दिए।
राशिदले ३३ बलमा ३ चौका र २ छक्काको मद्दतमा अर्धशतकीय इनिङ्स खेले। पाँचौँ विकेटका लागि राशिद र करणबीच भएको ५५ रनको साझेदारीले काठमाडौंलाई जित नजिक पुर्याएको थियो। करणले आक्रामक ब्याटिङ गर्दै २० बलमा ४ चौका र २ छक्कासहित ४४ रन बनाए।
त्यसअघि तेस्रो विकेटका लागि राशिद र आदिल आलमले ५४ रनको साझेदारी गरेका थिए। आदिलले २० रन बनाए। डेविड वार्नरले १० बलमा १६ रन जोड्दा स्मित पटेलले ९ र भीम सार्कीले ५ रन बनाए। जनादन खान २२ र सन्तोष यादव ५ रनमा अविजित रहे।
कर्णालीका हुसैन तलात र सोमपाल कामीले समान २ विकेट लिए। मार्क वाट र नन्दन यादवले एक–एक विकेट हात पारे।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८० रन बनाएको थियो।
कर्णालीका लागि अरिफुल इस्लामले आक्रामक सुरुवात गर्दै २२ बलमा ५ चौका र ३ छक्कासहित ४४ रन बनाए। हुसैन तलातले ३० बलमा ४० रनको योगदान दिए। पाँचौँ विकेटका लागि पवन सर्राफ र तलातबीच ६५ रनको साझेदारी भएको थियो।
गुल्सन झाले १२ बलमा २० रन बनाए भने पवन सर्राफ २४ र सोमपाल कामी १ रनमा अविजित रहे। मार्क वाटले १७, जिसन आलमले ७ र दीपक डुम्रेले ८ रन बनाए।
काठमाडौंका करण केसीले २ विकेट लिए। शाहब आलम, जहानदाद खान, देव शाह र सन्तोष यादवले समान एक विकेट हात पारे।
यस जितसँगै काठमाडौंले पहिलो खेलमा जनकपुर बोल्ट्ससँग बेहोरेको ८ विकेटको हारपछि पुनरागमन गरेको छ। यता, प्रतियोगितामा लगातार दुई खेल जितेको कर्णालीले तेस्रो खेलमा आएर पहिलो हार व्यहोरेको छ। कर्णालीले यसअघि जनकपुरलाई १९ रन र विराटनगर किंग्सलाई ४ विकेटले हराएको थियो।
सुदूरपश्चिमको दोस्रो जित, चितवनले पहिलो हार बेहोर्यो
सोमबारकै दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ५ विकेटले पराजित गरेको छ। चितवनले दिएको १३० रनको लक्ष्य सुदूरपश्चिमले १६.४ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो।
सुदूरपश्चिमको जितमा ब्रेन्डन म्याकमुलेनले सर्वाधिक ४३ रन बनाए। उनले २१ बलमा ६ चौका र २ छक्का प्रहार गरे। इशान पाण्डेले २५ रनको योगदान दिए।
आरिफ शेखले २० तथा शेर्फेन रदरफोर्डले अविजित २१ रन बनाए। विनोद भण्डारीले ११ र साइफ जैबले २ रन जोडे। कप्तान दीपेन्द्रसिंह ऐरी भने पहिलो बलमै आउट भए।
चितवनका रञ्जित कुमारले ३ विकेट लिए। रिजन ढकाल र मौसम ढकालले समान एक विकेट हात पारे पनि टोलीलाई जित दिलाउन सकेनन्।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२९ रन बनाएको थियो।
चितवनका लागि रवि बोपाराले सर्वाधिक ४९ रन बनाए। ४० बलको सामना गरेका उनले ३ चौका र २ छक्का प्रहार गरे। डेविड मलानले १६, कप्तान सिकन्दर राजाले १५, अर्जुन साउदले १५ र विवेक यादवले १७ रन जोडे। देव खनाल ७ रनमा आउट भए।
सुदूरपश्चिमका स्कट कुगेलेइनले २ विकेट लिए। हेमन्त धामी, दीपेन्द्रसिंह ऐरी र अनिल खरेलले समान एक विकेट लिए।
यस जितसँगै सुदूरपश्चिमले चार खेलबाट दोस्रो जित निकालेको छ। यसअघि लुम्बिनी लायन्ससँग ७ विकेटले पराजित भएको सुदूरपश्चिमले पोखरा एभेन्जर्सलाई ६ विकेटले हराएको थियो। तेस्रो खेलमा विराटनगर किंग्ससँग ३५ रनले पराजित भएको थियो।
यता, चितवनले भने तीन खेलमा आएर पहिलो हार व्यहोरेको छ। चितवनले पहिलो खेलमा विराटनगरलाई ८ रनले हराएको थियो भने दोस्रो खेलमा वर्षाका कारण लुम्बिनी लायन्ससँग अंक बाँडेको थियो।
मंगलबार दुई खेल हुँदै
एनपीएलअन्तर्गत मंगलबार पनि दुई खेल हुनेछन्। दिनको पहिलो खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्स आमनेसामने हुनेछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने उक्त खेल मध्यान्ह १२:३० बजे सुरु हुनेछ।
त्यस्तै, दिनको दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ। उक्त खेल साँझ ५ बजे सुरु हुनेछ।