बाजुरा । धार्मिक तथा पर्यटकीयस्थल बाजुराको बडीमालिकामा हिमपातपछि सम्पर्कविहीन भएका एक युवक मृत अवस्थामा फेला परेका छन् ।
मृत्यु हुनेमा कञ्चनपुरको बेदकोट नगरपालिका–दैजीका २० वर्षीय मनिष बोहरा रहेका छन् । उनी भारी हिमपातका कारण गत शुक्रबारदेखि सम्पर्कविहीन भएका थिए ।
प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालका अनुसार आइतबार बिहान सदरमुकामबाट हेलिकप्टरमार्फत सुरक्षाकर्मीको टोली खोजीका लागि परिचालन गरिएको थियो । खोजी गर्ने क्रममा बोहरा बडीमालिकास्थित त्रिवेणी पाटन नजिक मृत अवस्थामा फेला परेका हुन् ।
प्रजिअ रिजालले मृतकको शव र खोजीमा खटिएका सुरक्षाकर्मीलाई हेलिकप्टरमार्फत सदरमुकाम ल्याउने पहल भइरहेको जानकारी दिए ।
यसअघि हिमपातका कारण बडीमालिकाको त्रिवेणी पाटनमा अलपत्र परेका कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ का २१ वर्षीय सागर कार्कीको शनिबार दिउँसो हेलिकप्टरमार्फत उद्धार गरिएको थियो ।
चार हजार २०० मिटर उचाइमा रहेको बडीमालिका मन्दिरको दर्शन गरेर फर्कने क्रममा हिमपात भएपछि कार्की शुक्रबारदेखि त्रिवेणी पाटनस्थित धर्मशालामा आश्रय लिएर बसेका थिए ।