ओरेगन । अमेरिकाको ओरेगन राज्यमा दुई हेलिकोप्टर आकाशमै एकआपसमा ठोक्किएर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
सीएनएनका अनुसार बिहीबार दिउँसो स्थानीय समयअनुसार करिब २ः१५ बजे म्याकमिनभिल म्युनिसिपल विमानस्थल नजिकै दुई हेलिकोप्टर एकआपसमा ठोक्किएका थिए। ठक्करपछि दुवै हेलिकोप्टर नजिकै रहेको एक निजी कृषि फार्मको खेतमा खसेका थिए। दुर्घटनास्थल ओरेगनको प्रमुख सहर पोर्टल्यान्डबाट करिब ४० माइल दक्षिणपश्चिममा पर्छ।
दुर्घटनामा मृत्यु हुनेमध्ये एक हेलिकोप्टरमा सवार दुई जना छन्। उनीहरू टेक्सासकी २२ वर्षीया उडान प्रशिक्षक म्याडी आस्बो र बेलायतका एक प्रशिक्षार्थी पाइलट हुन्। प्रहरीले प्रशिक्षार्थी पाइलटको नाम परिवारलाई जानकारी नदिएसम्म सार्वजनिक नगर्ने जनाएको छ।
त्यस्तै, अर्को हेलिकोप्टरका एक्ला चालक ३८ वर्षीय टायलर स्टर्डेभेन्टको पनि घटनास्थलमै मृत्यु भएको छ। उनी ओरेगनको न्युवर्ग निवासी रहेको बताइएको छ।
अमेरिकी राष्ट्रिय यातायात सुरक्षा बोर्ड (एनटीएसबी) र संघीय उड्डयन प्रशासन (एफएए) ले दुर्घटनाको कारणबारे अनुसन्धान थालेका छन्। एनटीएसबीका अनुसार दुर्घटनामा रोबिन्सन आर–२२ र एयरबस एएस–३५० मोडेलका हेलिकोप्टर संलग्न थिए।
दुर्घटनामा संलग्नमध्ये एउटा हेलिकोप्टर सञ्चालन गर्ने उडान प्रशिक्षण संस्था जेरी ट्रिम्बल हेलिकोप्टर्सले घटनाप्रति दुःख व्यक्त गर्दै अनुसन्धानमा पूर्ण सहयोग गरिरहेको जनाएको छ।