काठमाडौं । इम्पेरियल इनोभेसन फण्ड लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट कोष व्यवस्थापकको अनुमतिपत्र प्राप्त गरेको छ । कम्पनीले विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ अन्तर्गत कोष व्यवस्थापकका रूपमा काम गर्न अनुमति पाएको हो ।
अनुमतिपत्र प्राप्त गरेसँगै कम्पनीले लगानी कोष स्थापना तथा सञ्चालनका लागि आवश्यक नियामकीय प्रक्रिया अघि बढाउने तयारी गरेको जनाएको छ । नेपालको उत्पादनशील अर्थतन्त्र, नवप्रवर्तन र उद्यमशीलताको विकासमा योगदान पुर्याउने उद्देश्यले कम्पनीले दीर्घकालीन पूँजी परिचालन गर्ने लक्ष्य राखेको छ ।
कम्पनीले विशेषगरी नवीकरणीय ऊर्जा, सूचना प्रविधि, पर्यटन तथा कृषिलगायत उच्च वृद्धिको सम्भावना भएका क्षेत्रमा लगानी केन्द्रित गर्ने योजना बनाएको छ ।
कम्पनीका अध्यक्ष अम्बिका प्रसाद पौडेलले अनुमतिपत्र प्राप्तिलाई संस्थागत विकासको महत्वपूर्ण उपलब्धिका रूपमा लिएका छन् । उनले कोषमार्फत उच्च सम्भावना भएका उद्यमी तथा व्यवसायलाई रणनीतिक पूँजी र व्यवस्थापकीय सहयोग उपलब्ध गराउँदै नेपालको दिगो आर्थिक विकासमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कम्पनीले बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी र संस्थागत लगानीकर्तासँग सहकार्य गरी अनुसन्धानमा आधारित लगानी, पारदर्शी प्रक्रिया तथा अनुशासित व्यवस्थापनलाई प्राथमिकता दिने जनाएको छ । उत्पादनशील क्षेत्रका व्यवसायलाई दीर्घकालीन पूँजी उपलब्ध गराउनुका साथै उनीहरूको व्यावसायिक विस्तारमा सहयोग गर्ने कम्पनीको लक्ष्य छ ।
कम्पनीको प्रवर्द्धक तथा सञ्चालक समितिमा बैंकिङ, केन्द्रीय बैंकिङ, बीमा, पूँजीबजार र उद्योग क्षेत्रका अनुभवी व्यक्तित्वहरू आबद्ध छन् ।
कम्पनीका अध्यक्ष पौडेल तीन दशकभन्दा बढी व्यावसायिक अनुभव भएका उद्यमी हुन् । उनीसँग पूँजीबजार तथा वित्तीय क्षेत्रमा समेत लामो अनुभव रहेको छ ।
त्यस्तै, कम्पनीका प्रबन्ध सञ्चालक बोधराज देवकोटासँग नेपालको बैंकिङ क्षेत्रमा २७ वर्षभन्दा बढीको नेतृत्वदायी अनुभव छ । उनले लगानी व्यवस्थापन, रणनीतिक योजना तथा वित्तीय पुनःसंरचनालगायतका क्षेत्रमा काम गरेका छन् ।
सञ्चालक समितिमा नेपाल राष्ट्र बैंकको नियमन तथा सुपरिवेक्षण क्षेत्रमा लामो अनुभव हासिल गरेका पूर्वकार्यकारी निर्देशक नारायण प्रसाद पौडेल, फेडेरेसन अफ नेपलिज इन्डस्ट्रिज एन्ड इन्टरप्रेनर्सका अध्यक्ष तथा व्यवसायी भागीरथ सापकोटा र बैंकिङ, बीमा तथा लगानी व्यवस्थापनमा अनुभव प्राप्त शिव सिंह कार्की रहेका छन् ।
यसैगरी, वाणिज्य बैंकहरूमा रणनीति, अनुपालन तथा संस्थागत सुशासनका क्षेत्रमा १६ वर्षभन्दा बढी अनुभव हासिल गरेकी सबिना राना स्वतन्त्र सञ्चालकका रूपमा आबद्ध छन् ।