काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशको रक्षा र पार्टीको शक्ति स्थापित गर्न आन्दोलनको विकल्प नरहेको बताएका छन्। उनले तत्काल, तिहारपछि वा छठपछि जुनसुकै बेला आन्दोलन गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै नेता–कार्यकर्तालाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन्।
बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा मनोनित केन्द्रीय सदस्यहरूको शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले देश गम्भीर अवस्थामा रहेको बताए। आन्दोलनबाट भाग्ने वा आन्दोलन गर्न हिचकिचाउने हो भने सफल हुन नसकिने उनको भनाइ थियो।
‘देश क्रिटिकल अवस्थामा छ । यस अवस्थाबाट हामीले देशलाई पार लगाउनुपर्नेछ । यसका लागि हामी आन्दोलनका लागि तयार हुनुपर्छ,’ ओलीले भने, ‘आन्दोलन गर्ने आँट गरेनौँ भने हामी सफल हुन सक्दैनौँ।’
उनले दक्षिणपन्थी शक्तिहरूले लोकतन्त्र र शान्तिको कुरा गरे पनि व्यवहारमा नेपालीलाई धोका दिइरहेको आरोप लगाए। त्यस्ता शक्तिले हिंसा, लुटपाट र आतंक फैलाउने षड्यन्त्र गरिरहेको उनको दाबी थियो।
ओलीले सरकार बलजफ्ती अघि बढिरहेको आरोप लगाउँदै प्रहरीको कार्यशैलीप्रति पनि असन्तुष्टि जनाए। प्रहरी बर्दीबिनै पक्राउ गर्न जाने र बलपूर्वक घरमा प्रवेश गर्ने गरेको भन्दै उनले यस्तो शैलीको आलोचना गरे।
सरकार ‘फाँसीवादतर्फ बेलगाम अघि बढिरहेको’ आरोप लगाउँदै ओलीले राज्यका निकायले समेत स्वतन्त्रताको प्रयोग गर्न नसक्ने अवस्था आएको बताए। यस्तो परिस्थितिमा एमाले आन्दोलनकारी ढंगले अघि बढ्नुको विकल्प नरहेको उनको भनाइ थियो।
उनले आगामी स्थानीय र प्रदेश तहको निर्वाचनलाई लक्षित गर्दै एमालेविहीन देश बनाउने योजनालाई असफल पार्ने गरी तयारी गर्न पनि नेता–कार्यकर्तालाई निर्देशन दिए। आगामी निर्वाचनमा एमालेको पराजय चाहनेहरूको ‘दिवास्वप्न’ पूरा हुन नदिन उनले आग्रह गरे।