काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले स्थानीय तहको निर्वाचन गैरदलीय बनाउनुपर्ने माग गर्दै आफ्नो पार्टी निर्वाचनबाट नभाग्ने बताएका छन्। उनले आगामी स्थानीय तहको निर्वाचन ‘घण्टीमय’ नहुने बताएका छन्। उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले घोषणापत्रमा गरेको प्रतिबद्धताअनुसार स्थानीय निर्वाचन गैरदलीय बनाउन र विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्।
बुधबार निर्वाचन आयोगमा सञ्चारकर्मीसँग कुरा गर्दै घिसिङले स्थानीय तहको निर्वाचन गैरदलीय भए दलको चुनाव चिह्नभन्दा स्वतन्त्र उम्मेदवारलाई प्राथमिकता दिनुपर्ने धारणा राखे।
‘स्थानीय तहको निर्वाचन गैरदलीय हुनुपर्छ भन्ने हाम्रो माग हो,’ उनले भने, ‘गैरदलीय निर्वाचन नभए पनि हामी निर्वाचनबाट भाग्दैनौँ।’
घिसिङले रास्वपाले आफ्नो घोषणापत्र र प्रतिबद्धतापत्रमा स्थानीय तहको निर्वाचन गैरदलीय बनाउने तथा विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार सुनिश्चित गर्ने विषय उठाएको बताए। ती प्रतिबद्धता कार्यान्वयन गर्नुपर्ने उनको भनाइ थियो।
स्थानीय जनप्रतिनिधि राजनीतिक दलभन्दा जनताप्रति जवाफदेही हुनुपर्ने उल्लेख गर्दै उनले दलीय हस्तक्षेप, टिकट वितरणमा हुने आर्थिक चलखेल र भ्रष्टाचार न्यूनीकरणका लागि गैरदलीय निर्वाचन आवश्यक रहेको बताए। आगामी निर्वाचनअघि नै आवश्यक कानुन संशोधन र नियम निर्माण गरी उक्त व्यवस्था लागू गर्न उनले सरकारसँग माग गरे।
त्यस्तै, विदेशमा रोजगारी, अध्ययनलगायत कारणले रहेका नेपाली नागरिकलाई मतदानको अधिकार दिनुपर्नेमा उनले जोड दिए। यसअघि अन्तरिम सरकारका बेला समय अभाव, संसद् नहुनु र कानुनी जटिलताका कारण उक्त व्यवस्था कार्यान्वयन गर्न कठिनाइ भएको उल्लेख गर्दै उनले अहिले संसद् र सरकार दुवै रहेकाले बहाना बनाउन नहुने बताए।
स्थानीय तहको निर्वाचनमा उम्मेदवार छनोटबारे घिसिङले राम्रो विगत भएका, सक्षम र जनताका लागि काम गर्न सक्ने व्यक्तिलाई प्राथमिकता दिने बताए। त्यस्ता व्यक्ति पार्टीभित्रका वा बाहिरका जोसुकै हुन सक्ने उनको भनाइ थियो। तर, निर्वाचनअघि गैरदलीय प्रणाली लागू हुनुपर्ने माग रहेकाले अहिले नै उम्मेदवारको टिकट वितरण गर्ने पक्षमा आफूहरू नरहेको उनले स्पष्ट पारे।
श्रम संस्कृति पार्टीसँग एकता गर्ने विषयमा अहिलेसम्म कुनै संवाद वा भेटघाट नभएको पनि घिसिङले बताए। भविष्यमा एकता हुन सक्ने सम्भावना रहे पनि त्यसका लागि विचार र एजेन्डामा सहमति आवश्यक रहेको उल्लेख गर्दै उनले अहिले उज्यालो नेपाल पार्टीलाई बलियो बनाउने दिशामा अघि बढिरहेको बताए।
सुशासन, सामाजिक न्याय र हरित क्रान्तिमार्फत देशलाई समृद्ध बनाउनु आफ्नो पार्टीको मुख्य उद्देश्य रहेको पनि उनले बताए।