झापा । झापामा व्यावसायिक रूपमा सयपत्री फूलखेती गर्दै आएका किसानले स्वदेशी उत्पादनले बजार नपाउने अवस्था अन्त्य गर्न प्रशासनसँग माग गरेका छन्। उनीहरूले भारतबाट हुने फूलको आयात रोक्दै स्थानीय उत्पादनलाई प्राथमिकता दिने व्यवस्था मिलाउन आग्रह गरेका हुन्।
केही वर्षयता झापामा सयपत्री फूलको व्यावसायिक खेती विस्तार हुँदै गएको छ। तर, भारतबाट आयात हुने फूलका कारण स्थानीय उत्पादनले उचित बजार नपाउँदा बोटमै फूल खेर जाने समस्या बढेको किसानको गुनासो छ। यस विषयमा राज्यको ध्यानाकर्षण गराउनुपरेको बिर्तामोडकी कृषक सुष्मा पौडेलले बताइन्।
पौडेलको नेतृत्वमा २० जना व्यावसायिक किसानको टोलीले मङ्गलबार प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेललाई भेटेर सातबुँदे मागपत्र बुझाएको छ। मागपत्रमा स्वदेशी सयपत्री फूललाई स्थानीय बजारमा पहिलो प्राथमिकता दिनुपर्ने विषयलाई प्रमुख रूपमा उठाइएको छ।
स्थानीय उत्पादनले नै बजारको माग धान्न सक्ने अवस्था रहेको उल्लेख गर्दै किसानले भारतीय फूलको आयात रोक्न नीतिगत पहल गर्न माग गरेका छन्। स्वदेशी उत्पादनको संरक्षण र फूलखेतीमा गरिएको लगानी सुरक्षित गर्न आयात नियन्त्रण आवश्यक रहेको कृषक पौडेलले बताइन्।
किसानका अनुसार झापामा १५ देखि २० हेक्टर क्षेत्रफलमा सयपत्री फूलको व्यावसायिक खेती हुँदै आएको छ। बिर्तामोड, मेचीनगर, भद्रपुर, दमक र शिवसताक्षीलगायत क्षेत्रमा फूलखेती विस्तार भएको छ। तर, विगतमा स्थानीय फूलले उचित बजार नपाउँदा किसानले आर्थिक क्षति बेहोर्नुपरेको उनीहरूको भनाइ छ।
फूलखेतीमा लाखौँ रुपैयाँ लगानीसँगै श्रम र समय खर्चिए पनि बजारको सुनिश्चितता नहुँदा किसान समस्यामा परेका छन्। यस व्यवसायले स्थानीयस्तरमा रोजगारी र आयआर्जनको अवसर सिर्जना गरे पनि उत्पादनको उचित मूल्य र बजार सुनिश्चित गर्न राज्यले पर्याप्त ध्यान नदिएको किसानको गुनासो छ।
किसानले भारतबाट हुने अनधिकृत फूल आयात नियन्त्रण गर्न सीमा तथा भन्सारमा प्रभावकारी अनुगमन गर्नुपर्ने माग गरेका छन्। साथै, स्थानीय उत्पादनले उचित मूल्य र सहज बजार पाउने व्यवस्था मिलाउन पनि उनीहरूले आग्रह गरेका छन्।
त्यसैगरी सरकारी कार्यालय, विद्यालय, होटल तथा विभिन्न सङ्घसंस्थामा स्वदेशी फूलको प्रयोगलाई प्रोत्साहन गर्न, फूलखेतीको वास्तविक तथ्याङ्क सङ्कलन गरी दीर्घकालीन योजना बनाउन र उत्पादनको संरक्षण तथा बजार विस्तारका लागि सरकारी सहयोग उपलब्ध गराउन किसानले माग गरेका छन्।