काठमाडौँ– इंग्ल्यान्डका अनुभवी ब्याटर डेभिड मलान नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा चितवन राइनोजबाट मैदानमा उत्रने भएका छन्।
टी–२०, एकदिवसीय र टेस्ट क्रिकेटमा अन्तर्राष्ट्रिय शतक प्रहार गरिसकेका मलानलाई चितवन राइनोजले पुनः टोलीमा आबद्ध गरेको हो। एनपिएलअन्तर्गत आज चितवन राइनोज र विराटनगर किङ्ग्सबीच मध्याह्न प्रतिस्पर्धा हुँदैछ।
चितवन राइनोजका निर्देशक प्रताप देवकोटाका अनुसार आक्रामक तथा स्थिर ब्याटिङका लागि परिचित मलान आजको खेलमा टोलीबाट खेल्नेछन्। उनले गत संस्करणको एनपिएलमा पनि चितवन राइनोजबाटै खेलेका थिए।
इंग्ल्यान्डले सन् २०२२ मा आईसीसी टी–२० विश्वकपको उपाधि जित्दा मलान टोलीका महत्त्वपूर्ण सदस्य थिए। बायाँहाते ब्याटर मलान अन्तर्राष्ट्रिय क्रिकेटमा अनुभवी खेलाडीका रूपमा परिचित छन्। उनी आईसीसीको टी–२० अन्तर्राष्ट्रिय ब्याटिङ वरीयतामा शीर्ष स्थानमा समेत पुगिसकेका छन्।
मलानले टेस्ट क्रिकेटमा एक हजार ७४ रन बनाएका छन् भने उनको उच्च व्यक्तिगत स्कोर १४० रन हो। त्यस्तै, ३० एकदिवसीय खेलमा एक हजार ४५० रन बनाएका उनले यस प्रारूपमा पनि १४० रनको उच्च स्कोर बनाएका छन्।
टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ६२ खेल खेलेका मलानले एक हजार ८९२ रन बनाएका छन्। यस प्रारूपमा उनको उच्च व्यक्तिगत स्कोर १०३ रन रहेको छ।
एनपिएलको पहिलो संस्करणमा चौथो स्थान हासिल गरेको चितवन राइनोज दोस्रो संस्करणमा भने सातौँ स्थानमा सीमित भएको थियो। यस संस्करणमा अनुभवी ब्याटर मलानको पुनरागमनले टोलीको ब्याटिङलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।