चितवन। दसैँको बिदामा अधिकांश राजनीतिकर्मी पारिवारिक भेटघाटमा व्यस्त रहँदा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम भने मतदाताका समस्या र गुनासा सुन्न गाउँगाउँमा पुगिन्। चितवन निर्वाचन क्षेत्र नम्बर ३ की प्रतिनिधिसभा सदस्यसमेत रहेकी गौतमले माडीका धानखेतदेखि नारायणी नदीको तटीय क्षेत्रसम्म पुगेर स्थानीयका समस्या सुनेकी हुन्।
धान पाकेपछि चाडपर्व नभनी बाली भित्र्याउन व्यस्त किसानलाई भेट्न गौतम माडीका खेतमै पुगेकी थिइन्। खेतमा धान काटिरहेका किसानसँग उनले कृषि उत्पादन, मल र बीउको उपलब्धता तथा उपजको बजार मूल्यलगायत विषयमा जानकारी लिइन्। दसैँको शुभकामना आदानप्रदानसँगै उनले माडी र भरतपुरका विभिन्न बस्तीमा पुगेर स्थानीयका गुनासा सुनेकी थिइन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चितवनका सभापति इन्जिनियर मिनीमाधव खनालका अनुसार मन्त्री गौतमले खेतबारीमै पुगेर किसानसँग भेटघाट गर्नुका साथै अग्रजबाट आशीर्वादसमेत लिएकी थिइन्। “मन्त्रीलाई समस्या लिएर काठमाडौँ भेट्न जान चाहेकाहरूलाई गाउँघरमै भेटेर समस्या तथा गुनासा सुन्नुभयो,” खनालले भने।
गौतमले नारायणी नदीको तटीय क्षेत्रको अवलोकन गरी स्थानीयसँग तटबन्ध निर्माण, नदी कटान र बस्ती सुरक्षाका विषयमा छलफल गरिन्। भरतपुर महानगरपालिकाका वडा नम्बर ३, १६, १७, २६, २७ र २८ का बासिन्दासँग भेटेर उनले अधुरा तटबन्ध निर्माणका काम सम्पन्न गर्न पहल गर्ने प्रतिबद्धता जनाएको स्थानीय नन्दप्रसाद भट्टले बताए।
नारायणगढदेखि काभ्रेघाट, भङ्गेरीथान, ज्ञानेश्वर, सिद्धिगणेश, मझुवा, हिरापुर हुँदै गोलाघाटसम्मका नदी तटीय बस्तीका बासिन्दाले कटानको जोखिमसँगै अन्य समस्या पनि मन्त्रीसमक्ष राखेका थिए। भट्टका अनुसार गौतमले तटीय क्षेत्रको संरक्षणलाई गम्भीरतापूर्वक लिएको र तटबन्ध निर्माणका बाँकी काम छिट्टै सम्पन्न गर्न पहल गर्ने बताएकी थिइन्। केही समस्या समाधानका लागि उनले तत्कालै पहलसमेत अघि बढाएकी थिइन्।
मन्त्री गौतमले भरतपुर महानगरपालिकाका वडा नम्बर ९ र १३ लगायतका क्षेत्रमा पुगेर पनि मतदातासँग भेटघाट गरिन्। दसैँको टीकाअघि नै गृहजिल्ला आएकी उनले परिवारसँगभन्दा मतदाता र पार्टीका कार्यकर्तासँग बढी समय बिताएको उनका श्रीमान् गृहेन्द्र घिमिरेले बताए। उनका अनुसार दिनभर गौतम जनताको घरदैलोमा पुग्ने र राति अबेरसम्म पनि समस्या लिएर स्थानीय नेता तथा कार्यकर्ता निवासमा आउने गरेका थिए।
रास्वपाका जिल्ला नेता प्रकाश आचार्यका अनुसार मन्त्रीलाई भेटेर आफ्ना समस्या राख्न चाहनेहरूलाई निवासमै भेट्ने व्यवस्था मिलाइएको थियो। “मन्त्रीलाई दसैँमा अरूमा ध्यान थिएन। मतदाताहरू जति सकिन्छ धेरैसँग भेट गर्नु थियो,” आचार्यले भने। हजुरआमाको निधनका कारण गौतमले यस वर्ष दसैँको टीका नलगाए पनि बिदाको अधिकांश समय शुभकामना आदानप्रदान र मतदातासँगको भेटघाटमा बिताएको उनले बताए।
दसैँ बिदाकै क्रममा गौतमले चितवन आएका विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई समेत आफ्नो निर्वाचन क्षेत्रमा मतदातासँग भेट गराएकी थिइन्।
गौतम निर्वाचित भएपछि माडी जाने हुलाकी सडकको निकुञ्ज क्षेत्रमा कालोपत्रे गर्ने प्रक्रिया अघि बढेको छ। नारायणी नदीमा बाँकी तटबन्ध निर्माण तथा माडी र आसपासका क्षेत्रमा पुल, सडकसहितका विकास निर्माणका काम पनि अघि बढेका छन्।