वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही गर्न सकिने सङ्केत दिएका छन् । आवश्यक परे अमेरिकाले इरानको सम्पूर्ण तेल कब्जा गर्न वा पूरै देशलाई आफ्नो नियन्त्रणमा लिन सक्ने दाबीसमेत उनले गरेका छन् ।
शुक्रबार फ्लोरिडामा आयोजित र्यालीमा सहभागी हुन ह्वाइट हाउसबाट निस्कने क्रममा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इरान अहिले कमजोर अवस्थामा रहेको बताएका हुन् ।
“इरान अहिले खासै केही गर्न सक्ने अवस्थामा छैन । हामीले चाह्यौँ भने त्यहाँको सबै तेल कब्जा गर्न सक्छौँ । हामी पूरै देश नै कब्जा गर्न सक्छौँ,” ट्रम्पले भने ।
इरानसँगको द्वन्द्व अझै एक वर्षसम्म लम्बिन सक्ने संयुक्त राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत माइक वाल्ट्जको भनाइबारे सोधिएको प्रश्नमा ट्रम्पले द्वन्द्व छिट्टै अन्त्य गर्न सकिने दाबी गरे ।
“हामी यसलाई निकै छिटो अन्त्य गर्न सक्छौँ । प्रश्न यो हो—के हामी यसलाई पूर्ण रूपमा टुङ्ग्याउन चाहन्छौँ वा आफैँ कमजोर हुँदै जान दिने हो ?” उनले भने ।
पछि फ्लोरिडामा आयोजित र्यालीलाई सम्बोधन गर्दै ट्रम्पले इरानविरुद्ध अर्को सैन्य अभियान सञ्चालन गर्न सकिने सङ्केत गरे । “हामी अर्को एउटा सानो ‘एपिक फ्युरी’ सञ्चालन गर्न सक्छौँ,” उनले भने ।
‘एपिक फ्युरी’ अमेरिकाले गत फेब्रुअरी २८ मा इजरायलसँगको समन्वयमा इरानविरुद्ध सञ्चालन गरेको सैन्य कारबाहीको नाम हो ।
अमेरिका र इजरायलले अमेरिकी मध्यावधि निर्वाचनपछि इरानमाथि पुनः आक्रमण गर्ने योजनाबारे छलफल गरिरहेको भन्ने समाचार सार्वजनिक भइरहेका बेला ट्रम्पको पछिल्लो अभिव्यक्ति आएको हो ।
यद्यपि, इरानविरुद्ध थप सैन्य कारबाही सञ्चालन गर्ने विषयमा ट्रम्पले अन्तिम निर्णय गरिसकेका छन् वा छैनन् भन्ने स्पष्ट भइसकेको छैन । अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार यसबारे अझै अनिश्चितता कायम छ ।
ट्रम्पको पछिल्लो अभिव्यक्तिले अमेरिका र इरानबीचको तनाव थप चर्किन सक्ने सङ्केत गरेको छ ।