गुगल म्यापमा नेपालको चुच्चे नक्सा समावेश भएको छ । जेठमा सरकारले जारी गरेको नयाँ नक्सालाई गुगल म्यापले टुक्रे धर्काले देखाउँदै समावेश गरेको हो ।
२०७७ जेठ ५ गते बसेको मन्त्रिपरिषद् बैठकले भूमी व्यवस्था तथा सहकारी गरिवी निवारण मन्त्रालयद्वारा प्रस्तावित नेपालको अध्यावधिक नक्शा स्वीकृत गरेको थियो । जेठ ५ गतेकै मितिमा नेपाल राजपत्रमा उक्त नक्शा प्रकाशित गरिएको थियो भने जेठ ७ गते कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ राजनैतिक नक्सा औपचारिक रुपमा सार्वजनिक गरिएको थियो।
उक्त नक्सा २०७७ जेठ ३१ गते संसदबाट सर्वसम्मत रुपमा पारित भएको थियो । यसअघि उक्त क्षेत्र भारतले अतिक्रमण गरेको थियो। नयाँ नक्साअनुसार नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार ५ सय १६ वर्ग किलोमिटर छ । भारतले २०७६ कार्तिक १६ गते जारी गरेको नयाँ राजनीतिक नक्सामा कालापानी–लिपुलेक पश्चिमका नेपाली भू–भाग समेत समेटेको थियो ।
२०७७ साल जेठ ९ गते विकिपिडियामा नेपालको क्षेत्रफल थपिएको राखिएको थियो ।
गुगलको सर्च बारमा (Nepal) भनेर टाइप गर्दा पहिलो नम्बरमा देखिने विकिपिडियामा नेपालको क्षेत्रफल ३ सय ३५ वर्ग किलोमिटर थप गरेर १,४७,५१६ बर्ग किमी राखिएको थियो ।
नेपालले नयाँ नक्सा जारी गरेपछि अन्तर्राष्ट्रिय समूदायको ध्यानाकर्षण हुनु पर्नेमा अहिलेसम्म हुन सकेको छैन । नेपालले पनि भारचसँगको सीमाविवादलाई आपसी संवाद र सहमतिबाटै हल गर्ने भनेर अहिलेसम्म अन्तर्राष्ट्रियकरण गरेको छैन ।
गुगलले नेपालको नयाँ नक्सालाई समावेश गरेपछि अब यसलाई अन्तर्राष्ट्रियकरण गर्न सहज हुने बताइएको छ ।