जति बेला नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करण आयोजना हुने कुरा चलिरहेको थियो, यसलाई लिएर उत्तिकै दुविधा पनि थियो, शंका पनि थियो । सन् २०२४ मा एनपीएलको पहिलो सिजन सुरु हुन लागेकै बेला पनि यो प्रतियोगिता साँच्चै हुनेछ भन्नेमा धेरैलाई प्रश्न थियो । नहोस पनि किन र, यसअघिका केही फ्रेन्चाइज प्रतियोगिताले राम्रो शाख बनाउन सकेका थिएनन् । यी सबै भए, दुई वर्ष अगाडिका कुरा । अबको केही दिनपछि नै एनपीएल तेस्रो सिजनको प्रतियोगिता सुरु हुँदैछ ।
यति छोटो समयमै प्रतियोगिताको आकार यति धेरै ठूलो हुनेछ भनेर सायद धेरैले कल्पना पनि गरेका थिएनन् । त्यस अर्थमा नेपाली खेलकुदलाई नजिकबाट हेरिरहेका सबैका लागि एनपीएल सुखद आश्चर्य सावित भएको छ । यस्तोमा भन्न सुरु भएको एनपीएलको तेस्रो संस्करणसम्म आइपुग्दा यो प्रतियोगिता नेपाली खेलकुदकै कोशेढुंगा उपलब्धी सावित भएको छ । के हो त ? सायद धेरै अर्थमा हो पनि । जति बेला पहिलो सिजन सुरु भएको थियो, त्यति बेला यसको आयोजना नै ठूलो थियो ।
दोस्रो सिजन पुग्दा कीर्तिपुरको टीयू क्रिकेट मैदानले नयाँ रूप पाइसकेको थियो । त्यसमाथि फ्लड लाइट्सको व्यवस्था । त्यति बेला पनि फ्लड लाइट्समा खेल हुनेमै प्रश्न थियो । अझ समयमै टीयूको मैदान तयार हुनेमा पनि प्रश्न थियो । तर जति बेला प्रतियोगिताको आयोजना भयो, त्यसले धेरै आलोचकलाई बलियो जवाफ दिन सफल रह्यो । त्यसैले यो प्रतियोगिता अन्तर्राष्ट्रिय मिडियाकै नजरमा पर्न सफल रह्यो । सामाजिक संजालतिर त यसको चर्चा खुबै थियो ।
अब तेस्रो संस्करणको पालो, दुई ठूला उपलब्धी यससँग जोडिएका छन् । पहिलो यो प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले मान्यता दिएको छ । त्यसको अर्थ एनपीएलमा जति पनि खेल हुनेछन्, ती अन्तर्राष्ट्रिय मान्यता प्राप्त लिस्ट ‘ए’ का खेल हुनेछन् । यसको अर्थ के पनि हुनेछ भने अब प्रत्येक टिमले निर्धक्कसँग टेस्ट मान्यता प्राप्त देशका खेलाडीलाई अनुबन्ध गर्न सक्नेछ । भने पछि भविष्यमा एनपीएलमा खेल्न विश्व क्रिकेटका एकसेएक खेलाडी नेपाल आउन सक्नेछन् ।
दोस्रो उपलब्धी ‘डीआरएस’को प्रयोग । यो यस्तो प्रविधि हो, जसले अम्पायरका निर्णयलाई अझ सटिक र सही बनाउन मदत गर्नेछ । डीआरएसको विस्तारित रूप हो, डिसिजन रिभ्यु सिस्टम । त्यसको अर्थ के भन्दा अब ब्याटर होस अथवा बलर, कसैलाई अम्पायरको निर्णय चित्त नबुझेमा त्यसलाई रिभ्यु गर्न सक्नेछ । यसले पक्कै पनि अम्पायरमाथि दबाब बढाउने छ, अम्पायरका केही निर्णय सच्चिन सक्ने छन् । तर निर्णय आफैमा सही हुनेछ । यसले खेलाडीलाई गुनासो गर्ने ठाउँ कम दिनेछ ।
यी पृष्ठभूमिमा केही नाम चलेका विदेशी खेलाडी यसपल्ट नै नेपाल आउने तय भइसकेको छ । धमाधम ठूल ठूला नाम अगाडि आइरहेका छन् र यो क्रम अझै केही दिन चल्ने सक्नेछ । यसको सार के पनि हो भने नेपाली घरेलु खेलकुदमा अब एनपीएल जत्तिको प्रतियोगिता नै अरू कुनै रहेन् । यत्तिको ठूलो प्रतियोगिता कुनै छैन् पनि नेपालमा । यो वास्तवमै अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता हुने भएको छ । त्यसैले फेरि एकपल्ट दोहोर्याएर भन्नु नै पर्छ, एनपीएल वास्तवमै कोशेढुंगा प्रतियोगिता भएको छ ।
यसका लागि नेपाल क्रिकेट संघ (क्यान) लाई धन्यवाद दिनै पर्छ, धेरे हदसम्म सचिव पारस खड्कालाई यो प्रतियोगिताको श्रेय दिनुपर्छ । सोमबार पहिलो खेल रहेको छ र समाचार आइरहेको छ, त्यस दिनको टिकट सबै विक्री भइसके । नेपाली क्रिकेट समर्थकसामु यस्तो खेल हेर्न अवसर जुरेको छ, जुन हामीले यसअघि टीभीमा मात्र हेरिरहेका थियौ, आफ्नै आँखाले आफ्नै भूमिमा हेर्ने कल्पना मात्र गरेका थियौं । अबको एक महिना जतिको समय एनपीएलकै मात्र हुनेछ ।