काठमाडौं । विजयादशमी हिन्दू धर्मावलम्बीहरूको प्रमुख पर्वका साथै नवरात्रभर देवी भगवतीको पूजा–आराधना गरेपछि प्रसाद ग्रहण गर्ने र मान्यजनबाट आशीर्वाद लिने विशेष दिन हो। धार्मिक मान्यताअनुसार यो पर्व भगवान् श्रीरामले रावणमाथि विजय प्राप्त गरेको प्रसङ्गसँग पनि जोडिएको छ।
उपप्राध्यापक डा. नारायणप्रसाद निरौलाका अनुसार विजयादशमीको मुख्य महत्व देवी भगवतीको प्रसाद ग्रहण गर्नु र अग्रजबाट आशीर्वाद लिनुमा निहित छ। घटस्थापनादेखि सुरु हुने नवरात्रको पूजा–आराधना दशमीका दिन विधिपूर्वक समापन गरी टीका, जमरा र प्रसाद ग्रहण गर्ने परम्परा रहिआएको छ।
निरौलाले विजयादशमी देवीको आराधनाबाट प्राप्त प्रसाद ग्रहण गर्ने विशेष अवसर भएको बताए। उनका अनुसार सप्तमीको फूलपातीदेखि नवमीसम्म विशेष पूजा–आराधना गरिन्छ भने दशमीका दिन देवीको प्रसादका रूपमा टीका र जमरा लगाउने चलन छ।
विजयादशमीमा लगाइने रातो टीकालाई शक्ति, शुभ र मङ्गलको प्रतीकका रूपमा लिइन्छ। देवी भगवतीलाई रातो रङ प्रिय मानिने धार्मिक विश्वासका कारण शक्तिको उपासना गर्ने परम्परामा रातो टीका लगाउने चलन बसेको हो। यद्यपि, विभिन्न समुदायमा आफ्नो स्थानीय तथा कुल परम्पराअनुसार सेतो टीका लगाउने प्रचलनसमेत रहेको छ।
घटस्थापनाका दिन विधिपूर्वक रोपेर हुर्काइएको जमरालाई देवीको प्रिय वस्तु तथा प्रसादका रूपमा ग्रहण गरिन्छ। विजयादशमी आफैँमा शुभ दिन भएकाले टीका र प्रसाद ग्रहण गर्न निश्चित साइत नै कुर्नुपर्ने अनिवार्यता नरहेको निरौलाको भनाइ छ। शास्त्रीय मान्यताअनुसार यस दिनलाई शुभकार्य र कार्यसिद्धिका लागि उत्तम समय मानिन्छ।
दसैँमा मान्यजनले दिने आशीर्वचनको पनि विशेष धार्मिक तथा सांस्कृतिक महत्व छ। ‘आयुर्द्रोणसुते श्रियो दशरथे, शत्रुक्षयो राघवे, ऐश्वर्यं नहुषे, बलं हलधरे, सत्यञ्च कुन्तीसुते, विज्ञानं विदुरे, कीर्तिश्च नारायणे’ भन्ने आशीर्वचनमार्फत दीर्घायु, धनसम्पत्ति, शत्रुमाथि विजय, ऐश्वर्य, बल, सत्यनिष्ठा, ज्ञान र कीर्तिको कामना गरिन्छ।
यसरी विजयादशमी टीका र जमरा लगाउने पर्वमा मात्र सीमित छैन। यो देवी भगवतीको प्रसाद ग्रहण गर्ने, शक्ति र शुभताको कामना गर्ने तथा अग्रजबाट आशीर्वाद लिई पारिवारिक सम्बन्ध र सामाजिक सद्भावलाई बलियो बनाउने महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक अवसर हो।