दसैंका समयमा वस्तु तथा सामग्रीको आपूर्ति सहज बनाउनका लागि चीनसँगको तातोपानी नाका खुल्न लागेको छ । चीनसँगको तातोपानी नाका तीन दिनका लागि अस्थायी रूपमा सञ्चालनमा आउन लागेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार मन्त्री दीपककुमार साहको निरन्तर पहलपछि चिनियाँ पक्षले नेपाली पक्षको आग्रहलाई सम्बोधन गर्दै नाका अस्थायी रूपमा खोल्ने निर्णय गरेको हो ।
चिनियाँ पक्षको निर्णयअनुसार अक्टोबर १८ देखि २० सम्म तीन दिन तातोपानी नाका सञ्चालन हुनेछ । उक्त अवधिमा कार्गो ट्रकलाई मात्र आवतजावत गर्न अनुमति दिइने बताइएको छ ।
दसैंको समयमा आवश्यक वस्तुको आपूर्ति सहज बनाउन सरकारले गरेको पहलस्वरूप नाका अस्थायी रूपमा सञ्चालनमा आउन लागेको हो । यसले नेपाल–चीन व्यापारिक आवागमनलाई सहजीकरण गर्नुका साथै चाडपर्वका बेला आपूर्ति व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।