काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) ले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट आधिकारिक स्वीकृति पाएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। स्वीकृतिसँगै प्रतियोगितामा सहभागी विदेशी खेलाडीका लागि सम्बन्धित क्रिकेट बोर्डको अनापत्ति प्रमाणपत्र (एनओसी) अनिवार्य गरिएको छ भने एन्टी–करप्सन नियमसमेत कडाइका साथ लागू हुने भएको छ।
शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयोजित पत्रकार सम्मेलनमा क्यानका सचिव पारस खड्काले आईसीसीको सर्तअनुसार प्रतियोगिता सञ्चालन गरिने बताए। उनका अनुसार प्रतियोगिता सुरु हुनुअघिको ६ महिनाभित्र अस्वीकृत वा गैरकानुनी क्रिकेट प्रतियोगिता खेलेका खेलाडी एनपीएलमा सहभागी हुन पाउने छैनन्। अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिइसकेका विदेशी खेलाडीले पनि सम्बन्धित बोर्डबाट एनओसी लिनुपर्नेछ।
प्रतियोगिताभर आईसीसीको एन्टी–करप्सन युनिट (एसीयू) को आचारसंहिता लागू हुने क्यानले जनाएको छ। म्याच फिक्सिङ तथा स्पट फिक्सिङजस्ता गतिविधि नियन्त्रण गर्न खेलाडी, टोली मालिक र अन्य सरोकारवालालाई नियम पालना गराइनेछ।
एनपीएलको आधिकारिक टी–२० मान्यताबारे आईसीसीसँग पत्राचार भइरहेको र सोमबारसम्म प्राविधिक स्पष्टता आउने क्यानले जनाएको छ। प्रतियोगितामा निर्णय पुनरावलोकन प्रणाली (डीआरएस) लागू गर्ने विषयमा पनि दुईदेखि तीन दिनभित्र निर्णय सार्वजनिक गरिने खड्काले बताए।
नियमअनुसार प्रत्येक फ्रेन्चाइजले बढीमा आठ विदेशी खेलाडी अनुबन्ध गर्न पाउनेछ भने प्लेइङ–११ मा सात नेपाली र चार विदेशी खेलाडी राख्नुपर्नेछ।
यसैबीच, क्यानले आगामी नोभेम्बर १९ देखि २१ सम्म काठमाडौंमा आईसीसी एसिया सम्मेलन आयोजना गर्ने जनाएको छ। सम्मेलनमा एसियाका टेस्ट तथा एसोसिएट राष्ट्रका क्रिकेट पदाधिकारी सहभागी हुनेछन्। विदेशी प्रतिनिधिलाई एनपीएलको फाइनल अवलोकन गराएर नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय प्रवर्द्धन गर्ने क्यानको योजना छ।