काठमाडौँ । बडादसैँअन्तर्गत नवरात्रको सातौँ दिन आज नवदुर्गामध्येकी सातौँ देवी कालरात्रिको विधिपूर्वक पूजा आराधना गरिँदै छ। यस अवसरमा दसैँ घर तथा पूजा कोठामा देवीको आह्वान गरी धार्मिक विधिअनुसार पूजापाठ गरिन्छ।
वैदिक सनातन परम्पराअनुसार प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमीका दिन कालरात्रि देवीको पूजा गर्ने प्रचलन छ। धार्मिक मान्यताअनुसार काललाई समेत नष्ट गर्ने शक्तिकी प्रतीक भएकाले यस देवीलाई कालरात्रि भनिएको हो। विभिन्न पुराणमा कालरात्रि देवीको वर्ण कृष्ण र स्वरूप भयङ्कर रहेको उल्लेख छ।
नवरात्रको पहिलो दिन घटस्थापना गरी दसैँ घर तथा पूजा कोठामा जमरा राखेर नवदुर्गाको पूजा आराधना सुरु गरिएको थियो। पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता र छैटौँ दिन कात्यायनी देवीको पूजा गरिएको थियो। आज सातौँ दिन कालरात्रि देवीको पूजा गरिँदै छ।
नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थानमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठ गर्ने परम्परा छ। देवीको आराधना र पूजाबाट शक्ति, ऐश्वर्य तथा विद्या प्राप्त हुने धार्मिक विश्वासका साथ भक्तजनले नवरात्रभरि विशेष पूजापाठ गर्छन्।
नवदुर्गाका नौ स्वरूपमा शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्री पर्दछन्। आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको विशेष आराधना गरिन्छ भने विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म टीका तथा जमरा लगाएर दसैँ मनाउने परम्परा छ। यसरी नेपालीले १५ दिनसम्म बडादसैँ पर्व मनाउँछन्।
नवरात्रका अवसरमा देशभरका शक्तिपीठमा पूजाआजा तथा दर्शन गर्न जाने भक्तजनको भीड लाग्ने गर्छ। दसैँको सातौँ दिन आज फूलपाती पनि भित्र्याइँदै छ। वैदिक परम्पराअनुसार फूलपाती अपराह्नको समयमा दसैँ घरमा भित्र्याउने चलन छ।