काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूबाट गल्ती भए पार्टीले सभापति पदबाट हटाएर अघि बढ्नुपर्ने बताएका छन्। व्यक्तिभन्दा पार्टी ठूलो हुने उल्लेख गर्दै उनले आफ्नो कमजोरीको जिम्मेवारी आफैँले लिने प्रतिबद्धता जनाए।
शनिबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा शपथग्रहण समारोहलाई सम्बोधन गर्दै थापाले पार्टीका नाममा व्यक्तिका गल्ती र कमजोरीको भार बोक्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताए।
सभापतिका रूपमा आफ्नो व्यक्तिगत, पारिवारिक र आर्थिक जीवनप्रति सचेत र जिम्मेवार रहने उल्लेख गर्दै उनले नेपाली कांग्रेस लाखौँ नेता–कार्यकर्ताको रगत, पसिना र योगदानबाट बनेको सार्वजनिक सम्पत्ति भएको बताए।
मुलुकको वर्तमान अवस्थाबारे चर्चा गर्दै थापाले दसैँको फूलपातीका दिनसमेत हजारौँ युवा देश छाडेर विदेशिन बाध्य हुनु चिन्ताजनक भएको बताए। रातारात चमत्कार गरेर युवालाई स्वदेश फर्काउन नसकिए पनि नेपालमै स्वाभिमानका साथ बाँच्न सक्ने वातावरण निर्माणका लागि कांग्रेसले इमानदार प्रयास गर्नुपर्ने उनको भनाइ थियो।
पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेट्ने र व्यवस्थापन गर्ने जिम्मेवारी आफूले लिने बताउँदै थापाले नेता–कार्यकर्तालाई निराशा र गुनासोमा अल्झिनुभन्दा काममार्फत नागरिकका समस्या समाधान गर्न केन्द्रित हुन आग्रह गरे।
उनले पार्टीका तल्लो तहका कार्यकर्ता र आम नागरिकका सुख–दुःखमा प्रत्यक्ष जोडिन तथा सकारात्मक सोच, ऊर्जा र आशासहित अघि बढ्न कांग्रेसका नेता–कार्यकर्तालाई आह्वान गरे।
थापाले जनताको विश्वास आक्रोश र निराशाका कुरा गरेर नभई काम र परिणामबाट जित्नुपर्नेमा जोड दिए।