काठमाडौँ– साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार भएको आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने ३०९ जना घाइते भएका छन्। इरान समर्थित हुथी विद्रोहीले आक्रमण गरेको दाबी गरिएको छ। यसै साता विमानस्थललाई लक्षित गरी भएको यो तेस्रो आक्रमण हो।
साउदी नागरिक उड्डयन प्राधिकरणका अनुसार मृत्यु हुनेमा चार जना साउदी नागरिक, दुई जना बङ्गलादेशी तथा अमेरिका, जोर्डन, प्यालेस्टाइन, सिरिया, सुडान र इजिप्टका एक–एक जना नागरिक छन्। घाइतेहरूलाई एम्बुलेन्स तथा हेलिकप्टरमार्फत अस्पताल पुर्याइएको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ।
विगत एक दशकयता साउदी अरबमा भएका आक्रमणमध्ये यो सबैभन्दा घातक भएको दाबी गरिएको छ। साउदी अरबको खतरा चेतावनी प्रणालीले पूर्वसूचना नदिएकाले आक्रमण अप्रत्याशित रूपमा भएको बताइएको छ। यसअघि यसै साता भएका दुई आक्रमणमा चार जनाको मृत्यु भएको थियो भने विमानस्थलको धावनमार्गमा पार्किङ गरेर राखिएको साउदी व्यावसायिक विमानमा ठूलो क्षति पुगेको थियो।
आक्रमणपछि रियाद सहरलाई सेवा दिने अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन अस्थायी रूपमा बन्द गरिएको छ। विमानस्थलबाट हुने उडानहरू अन्यत्र मोडिएका छन् भने केही उडान रद्द गरिएका छन्। उडानको अवस्थाबारे जानकारी दिने वेबसाइट फ्लाइटराडार२४ का अनुसार रियादका उडानहरू रद्द वा अन्यत्र मोडिएका थिए।
यसैबीच, रियादस्थित अमेरिकी दूतावासले आफ्ना नागरिकलाई विमानस्थल र आसपासका क्षेत्रमा नजान आग्रह गरेको छ।
हुथी मिडिया कार्यालयका प्रमुखले सामाजिक सञ्जाल एक्समार्फत आफूहरूले रियाद अन्तर्राष्ट्रिय विमानस्थल बन्द गराएको दाबी गरेका छन्। साउदी समर्थित यमनी सरकारले हुथीविरुद्ध सैन्य कारबाही सुरु गरेपछि हुथीहरूले साउदी हवाई क्षेत्रलाई सैन्य कारबाहीको क्षेत्र घोषणा गर्दै विमान कम्पनीहरूलाई उक्त क्षेत्र प्रयोग नगर्न चेतावनी दिएका थिए।
अर्कोतर्फ, साउदी नेतृत्वको सैन्य गठबन्धनले आक्रमणको कडा जवाफ दिने प्रतिबद्धता व्यक्त गरेको छ। साउदी अरब र यमनी सरकारले हुथी नियन्त्रित क्षेत्रमा सयौँ हवाई आक्रमण गरेको दाबी गरेका छन्। हुथीहरूले भने ती आक्रमणमा महिला तथा बालबालिकासहित सर्वसाधारणको मृत्यु भएको बताएका छन्।
यस घटनाले यमनी सरकारको स्थल सैन्य अभियानलाई सहयोग गर्न हुथीविरुद्ध हवाई कारबाही गरिरहेको साउदी अरबको सुरक्षा व्यवस्थामाथि प्रश्न उठाएको छ।
साउदी अरब सन् २०१५ मा हुथी विद्रोहीलाई राजधानी सानाबाट हटाउने उद्देश्यसहित अरब गठबन्धनको नेतृत्व गर्दै यमन युद्धमा सहभागी भएको थियो। हुथीहरूले त्यसको अघिल्लो वर्ष सानामा नियन्त्रण कायम गरेका थिए। त्यसपछि चर्किएको युद्धका कारण यमनमा ठूलो मानवीय संकट उत्पन्न भएको थियो। लडाइँ, भोकमरी र रोगका कारण लाखौँ मानिस प्रभावित भएका थिए भने ठूलो सङ्ख्यामा मानिसले ज्यान गुमाएका थिए।
सन् २०२२ मा साउदी अरब र हुथीबीच भएको सहमतिपछि द्वन्द्व केही मत्थर भएको थियो। तर, गत गृष्मऋतुमा युद्धविराम भङ्ग भएपछि पुनः तनाव बढेको बताइएको छ। हुथीहरूले लालसागरको रणनीतिक क्षेत्र बाब अल–मन्देबमा नियन्त्रण कायम गरेको दाबी गरिएको छ। उक्त क्षेत्र फिर्ता लिन यमनी सरकारले यसै साता सुरु गरेको सैन्य अभियानले अपेक्षित प्रगति गर्न सकेको छैन। हुथीहरूले यमनको तेस्रो ठूलो सहर ताइजलाई समेत घेराबन्दीमा पारेका छन्।
रियादमा महत्वपूर्ण ऊर्जा तथा लगानी सम्मेलनहरू आयोजना हुन लागेका बेला विमानस्थलमा आक्रमण भएको हो। आक्रमणअघि सम्मेलनका आयोजकहरूले कार्यक्रमहरू पूर्वनिर्धारित समयमै सञ्चालन हुने बताएका थिए।