काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले आफूमाथि लागेका आरोपको निष्पक्ष छानबिन गर्न माग गरेका छन्। आरोप प्रमाणित भए प्रतिनिधिसभा सदस्य र पार्टीको केन्द्रीय सदस्य पदबाट निलम्बन वा बर्खास्त गर्नसमेत उनले आग्रह गरेका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सुनारले आफूमाथि लागेका आरोपको सत्यतथ्य अनुसन्धानमा सहयोग गर्न तयार रहेको बताएका छन्। आफूले कुनै गलत काम गरेको प्रमाणित भए त्यसको कानुनी परिणाम भोग्न तयार रहेको उनको भनाइ छ।
‘ममाथि निर्मम छानबिन गरियोस्। आवश्यक परे प्रतिनिधिसभा सदस्य र पार्टीको केन्द्रीय सदस्य पदबाट निलम्बन वा बर्खास्त गरियोस्,’ उनले लेखेका छन्, ‘मैले गरेको कुनै पनि कु–कर्मका लागि पार्टी र सरकार सती जानुपर्दैन।’
सुनारले आफूमाथि लागेका आरोपको अनुसन्धान हुनुपर्नेमा जोड दिँदै यस प्रकरणमा जोडिएकी महिलामाथि भने मिडिया ट्रायल र अतिरञ्जित प्रचार गरिएको भन्दै आपत्ति जनाएका छन्।
राजनीतिक तथा सामाजिक क्षेत्रमा सक्रिय महिलाको तस्बिर, अडियो र भिडियो जोडेर विभिन्न टिप्पणी गर्नु गलत भएको उनको भनाइ छ। कुनै गल्ती भएको भए आफूमाथि प्रहरी वा अदालतमार्फत अनुसन्धान गरी कानुनी कारबाही गरिनुपर्ने उनले उल्लेख गरेका छन्।
‘जे कारबाही हो, ममाथि होस्– मलाई स्वीकार छ। उहाँमाथिको आक्रमण मान्य छैन। त्यो गलत छ,’ सुनारले सामाजिक सञ्जालमा लेखेका छन्।
सम्बन्धित महिलाले आफूलाई अन्याय भएको अवस्थामा आफैँ मुद्दा दायर गर्ने र आफ्नो जीवनबारे सचेत रहेको बताइसक्दा पनि उनलाई अनावश्यक रूपमा लखेटिएको सुनारको दाबी छ। उनले आफूमाथि लागेका आरोपको निष्पक्ष छानबिन हुनुपर्ने र सम्बन्धित महिलामाथि अनावश्यक टिप्पणी तथा आक्रमण रोक्नुपर्ने धारणा राखेका छन्।