सन्तोष गौतम, मुस्ताङ । प्राचीन रेशमी मार्गसँग जोडिएको मुस्ताङको च्याङ्ग्रा व्यापारले पुस्तौँदेखि निरन्तरता पाउँदै आएको छ। कुनै समय हिमालपारिको व्यापारमा नुन र ऊनको कारोबार हुने यस क्षेत्रमा अहिले दसैँका बेला हिमाली च्याङ्ग्रा बजार झार्ने परम्पराले ऐतिहासिक विरासतलाई जीवन्त राखेको छ।
मुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनीका च्याङ्ग्रा व्यापारी निरज थकालीका अनुसार प्राचीन रेशमी मार्ग, मुस्ताङी च्याङ्ग्रा र पोखरा क्षेत्रको दसैँबीच हजारौँ वर्ष पुरानो सम्बन्ध छ।
“रेशमी मार्गमा नुन र ऊनको व्यापार इतिहास बने पनि दसैँमा मुस्ताङी च्याङ्ग्रा बेच्न बजार झर्ने चलनले त्यसको विरासत धानेको छ,” उनले भने, “मुक्तिनाथ आउने तीर्थयात्रीमार्फत मुस्ताङी च्याङ्ग्राको मासुको स्वाद देशभर फैलिएको इतिहास छ।”
मुस्ताङका लेकाली खर्कबाट सुरु हुने च्याङ्ग्राको यात्रा म्याग्दी, पर्वत, बागलुङ हुँदै चितवन, काठमाडौँ, पोखरा, बुटवल, स्याङ्जा र नुवाकोटलगायत देशका विभिन्न सहरसम्म पुग्ने गरेको छ।
विगतमा वस्तु तथा संस्कृतिको आदानप्रदान हुने यस क्षेत्रको च्याङ्ग्रा व्यापारले अहिले पनि हिमाल र सहरबीचको सम्बन्धलाई जीवन्त राखेको नेपाल पशु चौपाया व्यापार सेवा सङ्घका संस्थापक अध्यक्ष ज्ञानकुमार श्रेष्ठ बताउँछन्।
“ऊन र नुनको पुरानो व्यापार हराउँदै गए पनि दसैँमा मुस्ताङी च्याङ्ग्रा बजार झार्ने परम्परा कायम छ,” उनले भने, “यस परम्पराले हिमाली जीवनशैली, स्थानीय अर्थतन्त्र र पोखराको दसैँलाई एउटै धागोमा उनेको छ।”
हिमाली भेडाच्याङ्ग्राका बथान बजार झर्न थालेपछि सर्वसाधारणले दसैँ नजिकिएको महसुस गर्छन्। लोमान्थाङ गाउँपालिका–१ छोसेरका आङग्याल गुरुङ यस वर्ष दसैँका लागि ७०० च्याङ्ग्रा बिक्री गर्न बजार झरेका छन्।
“पुर्खाले गर्दै आएको च्याङ्ग्रा व्यापारलाई निरन्तरता दिएको छु,” उनले भने, “किसानबाट च्याङ्ग्रा खरिद गर्ने र आफ्नै गोठमा पालेका च्याङ्ग्रा बिक्री गर्न दसैँको समयमा बजार झर्ने हाम्रो पुरानो चलन हो।”
उपल्लो मुस्ताङका किसानका लागि च्याङ्ग्रापालन परम्परागत पेसासँगै आम्दानीको प्रमुख स्रोत हो। वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ तेताङका पेम्बा गुरुङले विगत ३० वर्षदेखि च्याङ्ग्राको व्यापार गर्दै आएका छन्। किसानबाट च्याङ्ग्रा खरिद गरेर दसैँका बेला बजारमा बिक्री गर्ने उनको व्यवसाय पुस्तौँदेखि चल्दै आएको छ।
नेपाल पशु चौपाया व्यापार सेवा सङ्घका संस्थापक अध्यक्ष श्रेष्ठ पनि छ दशकदेखि च्याङ्ग्रा व्यापारमा संलग्न छन्। बुबाले सुरु गरेको व्यवसायलाई निरन्तरता दिँदै आएका उनले यस वर्ष काठमाडौँ पठाउन एक हजार च्याङ्ग्रा मुस्ताङबाट सात दिन पैदल हिँडाएर म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरीमा ल्याएका छन्। यस व्यवसायमार्फत उनले १६ जनालाई मौसमी रोजगारीसमेत दिएका छन्।
श्रेष्ठका अनुसार यस वर्ष काठमाडौँका लागि तीन हजार च्याङ्ग्रा लैजाने तयारी गरिएको छ। चीनसँगको कोरला नाका बन्द रहेकाले यसपटक बजारमा आउने च्याङ्ग्रा स्वदेशकै हुन्। व्यापारीले एक महिनाअघि नै बुकीमा पुगेर नाम्ग्याल, छोसेर, यारा र घारालगायत क्षेत्रबाट च्याङ्ग्रा सङ्कलन गरेका थिए।
हाल बजारमा एउटा च्याङ्ग्राको मूल्य ४० हजारदेखि ५० हजार रुपैयाँसम्म पर्छ। श्रेष्ठका अनुसार विगतमा च्याङ्ग्राको मासु प्रतिकिलो एक हजार ३५० देखि एक हजार ४०० रुपैयाँसम्ममा बिक्री हुने गरेको थियो।
हिमाली बुकीमा पाइने जडीबुटी खाएर हुर्किने भएकाले च्याङ्ग्राको मासु पौष्टिक हुने मालिका गाउँपालिका–६ दरवाङका श्रीदत्त गौतम बताउँछन्। व्यापारीका अनुसार पाँच वर्षसम्म पालिएका च्याङ्ग्राको मासु स्वादिलो हुन्छ। च्याङ्ग्राको शरीरबाट निस्कने भुवा पस्मिनाको कच्चापदार्थका रूपमा समेत प्रयोग गरिन्छ।
किसान घट्दै, परम्परागत व्यवसाय सङ्कटमा
च्याङ्ग्राको माग र व्यापारको परम्परा कायम रहे पनि यसको पालन गर्ने किसानको सङ्ख्या भने घट्दै गएको छ। छोसेरमा पहिले २५ वटा च्याङ्ग्राका गोठ रहेकामा अहिले पाँचवटा मात्र बाँकी रहेको व्यापारी आङग्याल गुरुङले बताए।
हिउँचितुवाबाट च्याङ्ग्रा जोगाउनुपर्ने चुनौती, हिउँदमा चरन तथा आहाराको अभाव, गोठाला नपाइनु र युवा वैदेशिक रोजगारीमा जाने क्रम बढ्नुले परम्परागत व्यवसाय सङ्कटमा परेको स्थानीयको भनाइ छ।
कृषि तथा पशु विकास कार्यालय मुस्ताङका अनुसार यस वर्ष जिल्लाबाट १३ हजार ८१७ भेडाच्याङ्ग्रा निकासी भएका छन्। कार्यालय प्रमुख लालमणि अर्यालले ११ हजार ७०० च्याङ्ग्रा र दुई हजार २१५ भेडाको स्वास्थ्य परीक्षण गरी निकासी अनुमति दिइएको जानकारी दिए। कार्यालयले स्वास्थ्य परीक्षणपछि स्वस्थ भेडाच्याङ्ग्रा मात्र निकासी हुने व्यवस्था मिलाएको छ। गत वर्ष मुस्ताङबाट १८ हजार भेडाच्याङ्ग्रा निकासी भएका थिए।
मुस्ताङका वारागुङ मुक्तिक्षेत्र, घरपझोङ, लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकामा करिब ५० हजार च्याङ्ग्रा पालिएका छन्। उपल्लो मुस्ताङका किसानको मुख्य आयस्रोतका रूपमा रहेको च्याङ्ग्रापालनले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउनुका साथै पुस्तौँदेखिको परम्परालाई समेत जोगाउँदै आएको छ।
बाढीपहिरोले ढुवानीमा समस्या
यस वर्ष बाढीपहिरोले सडकमा क्षति पुर्याउँदा च्याङ्ग्रा बजारसम्म ल्याउन व्यापारीलाई कठिन भएको छ। च्याङ्ग्रा खरिद गर्न जाँदा सहज रहेको सडक फर्किने बेलासम्म बिग्रिएपछि कतिपय स्थानमा जोखिमपूर्ण यात्रा गर्नुपरेको व्यापारीले बताएका छन्।
बेनी–जोमसोम सडकको म्याग्दी खण्ड बाढीपहिरोका कारण क्षतिग्रस्त हुँदा च्याङ्ग्रा ओसारपसार चुनौतीपूर्ण बनेको छ। सडक छिट्टै सञ्चालनमा आएकाले भने व्यापारमा संलग्नलाई ठूलो राहत मिलेको व्यवसायीको भनाइ छ।
दसैँसँग जोडिएको मुस्ताङी च्याङ्ग्रा व्यापारले हिमाली भेगको परम्परा, किसानको जीविकोपार्जन र सहरको चाडपर्वलाई जोड्दै आएको छ। तर, पशुपालनमा घट्दो आकर्षण, चरन क्षेत्रको समस्या र सडक पूर्वाधारको जोखिम समाधान हुन नसके पुस्तौँदेखि चल्दै आएको यो परम्परा जोगाउन चुनौती थपिने देखिन्छ।