काठमाडौं । गृहमन्त्री सुधन गुरुङले बिमस्टेक सदस्य राष्ट्रहरूबीच क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा निर्माण गर्न प्रस्ताव गरेका छन् ।
भारतको नयाँ दिल्लीमा सम्पन्न बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को प्रथम गृहमन्त्रीस्तरीय बैठकमा उनले उक्त प्रस्ताव राखेका हुन् ।
जलवायु परिवर्तनका कारण बढ्दै गएको विपद्को जोखिमलाई न्यूनीकरण गर्न गृहमन्त्री गुरुङले सदस्य राष्ट्रहरूको सहभागितामा संयुक्त कार्यदल गठन गर्नुपर्ने धारणा राखेका छन् ।
त्यसैगरी, उनले आतङ्कवाद, लागुऔषध ओसारपसार, मानव बेचबिखन, सम्पत्ति शुद्धीकरण, अवैध वित्तीय प्रवाह तथा साइबर अपराध नियन्त्रणका लागि बिमस्टेक सदस्य राष्ट्रहरूबीच सहकार्य आवश्यक रहेकोमा जोड दिएका छन् ।
गृहमन्त्रालयका अनुसार गृहमन्त्री गुरुङले यस्ता अपराध नियन्त्रणका लागि सुरक्षित सूचना आदानप्रदान, प्रभावकारी समन्वय र संयुक्त प्रतिकार्य प्रणालीलाई थप सुदृढ बनाउनुपर्ने प्रस्तावसमेत गरेका छन् ।