काठमाडौं। सरकारले अध्ययन बिदाको दुरुपयोग गरी विश्वविद्यालय नफर्किएका तथा लामो समयदेखि सम्पर्कविहीन रहेका प्राध्यापकमाथि कारबाही प्रक्रिया अघि बढाउन त्रिभुवन विश्वविद्यालयलाई निर्देशन दिएको छ।
बिहीबार त्रिभुवन विश्वविद्यालय सभाको साधारण बैठकमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले अध्ययन बिदाको दुरुपयोग गर्ने प्राध्यापकबाट भत्ता असुली र जरिवाना तिराउने प्रक्रिया प्रभावकारी बनाउन निर्देशन दिएका हुन्।
उनले सम्पर्कमा नआएका र कारबाही प्रक्रियामा सहयोग नगरेका प्राध्यापकको विवरण तयार गरी थप कारबाहीका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लगायत सम्बन्धित निकायमा पठाउन निर्देशन दिए। त्यसका लागि एक महिनाको समयसीमा तोक्नसमेत उनले आग्रह गरे।
मन्त्री पोखरेलले त्रिभुवन विश्वविद्यालयको अतिक्रमित जग्गा फिर्ता ल्याउने कामलाई पनि प्राथमिकताका साथ अघि बढाउन निर्देशन दिए। उनले विश्वविद्यालयभित्र अतिक्रमित भएका जग्गाको कामकारबाहीलाई प्राथमिकतामा राख्न आग्रह गरेका हुन्।
अध्ययन बिदाको दुरुपयोग गर्ने प्राध्यापकबारे उनले भने, ‘जो सम्पर्कमै आउनुभएको छैन, जसले यो प्रक्रियामा सहयोग गर्नुभएको छैन, उहाँहरूलाई थप कारबाहीका लागि सीआईबी तथा सम्बन्धित निकायमा लेखी पठाउन अनुरोध गर्दछु।’