काठमाडौं। नेपाल टेलिकमका ग्राहकले अब हुलाक सेवामार्फत घरमै सिमकार्ड प्राप्त गर्न सक्ने भएका छन्। नेपाल टेलिकम र हुलाक सेवा विभागको सहकार्यमा बुधबारदेखि सिमकार्ड डेलिभरी सेवा सुरु गरिएको हो।
हुलाक सेवा विभागमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमल्सिनाले सेवाको शुभारम्भ गर्दै हुलाकमार्फत सिमकार्ड प्राप्त गरेका थिए।
सेवा सुरु गर्दै मन्त्री तिमल्सिनाले हुलाकको देशव्यापी सञ्जाल उपयोग गरेर सिमकार्ड वितरणलाई प्रभावकारी बनाउन निर्देशन दिए। उनले निर्धारित समयभन्दा अगावै सिमकार्ड पुर्याउने प्रयास गर्न र डेलिभरीमा लाग्ने समय तथा सेवाग्राहीको सन्तुष्टिका आधारमा सेवामा सुधार गर्दै लैजानुपर्ने बताए।
“भोलिका दिनमा एक–दुई दिनमा नभई केही घण्टाभित्रै डेलिभरी गर्न सक्ने गरी यसको क्षमता विस्तार गर्नुपर्छ,” उनले भने।
मन्त्री तिमल्सिनाले विशेषगरी सहरी क्षेत्रमा डेलिभरीलाई अझ छिटो बनाउन सकिने उल्लेख गर्दै सेवाको प्रभावकारिता र गुणस्तरमा ध्यान दिनुपर्ने बताए। हुलाक सेवाको क्षमता विस्तार गरेर सरकारी सेवा प्रवाहलाई थप चुस्त बनाउने सरकारको योजना रहेको उनको भनाइ थियो।
नेपाल टेलिकम र हुलाक सेवा विभागबीचको सहकार्यले टेलिकमका सेवा नागरिकको पहुँचमा पुर्याउन सहज हुने अपेक्षा गरिएको छ। यसबाट नेपाल टेलिकमका ग्राहकलाई सिमकार्ड प्राप्त गर्न थप सुविधा पुग्नुका साथै हुलाक सेवाको उपयोगिता र प्रभावकारिता बढाउनसमेत सहयोग पुग्ने विश्वास गरिएको छ।