काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री उदयशमशेर राणाले कर्णालीसहित देशका दुर्गम क्षेत्रका नागरिकका समस्या, भावना र भोगाइ बुझ्न काठमाडौंमा बस्ने राजनीतिक नेतृत्व आवश्यक रहेको बताएका छन्।
बुधबार ‘आधा अध्याय’ पुस्तक विमोचन कार्यक्रममा राणाले कर्णाली, सुदूरपूर्व र सुदूरपश्चिमका नागरिकका सुखदुःख बुझ्न नसक्ने नेतृत्वले प्रभावकारी राजनीति गर्न नसक्ने बताए। दुर्गम क्षेत्रका नागरिकका अनुभव र कथाले आफूलाई राजनीति बुझ्न तथा उनीहरूसँग घुलमिल हुन सहयोग गरेको उनको भनाइ थियो।
“हामीले कर्णालीको भावना, सुदूरपूर्वको भावना, सुदूरपश्चिमको भावना बुझ्नुपर्छ। काठमाडौंवासीले नबुझे हामीले राजनीति गर्न सक्दैनौँ,” राणाले भने।
‘आधा अध्याय’का लेखक लक्ष्मणबहादुर शाहीले कर्णालीका दुर्गम बस्तीमा व्याप्त गरिबी, अभाव, भौगोलिक विकटता र नागरिकका पीडालाई राज्यको नीति निर्माण तहसम्म पुर्याउने उद्देश्यले पुस्तक लेखेको बताए। केन्द्रिकृत राज्यसत्ताबाट टाढा रहेका गाउँबस्तीका वास्तविक समस्या पहिचान गरी सम्बोधन गर्नुपर्नेमा उनले जोड दिए।
“राज्य सञ्चालन गर्नेहरूले कर्णालीको वास्तविक समस्याको पहिचान गरेर त्यसलाई ठीक ढङ्गले सम्बोधन गरिनुपर्छ,” शाहीले भने।
उनका अनुसार पुस्तकमा गाउँबस्तीका नागरिकले भोगिरहेका कठिनाइ, सामाजिक समस्या र अभावलाई समेटेर राज्य सञ्चालक तथा सिंहदरबारसम्म पुर्याउने प्रयास गरिएको छ। कर्णालीको ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक पहिचानलाई राष्ट्रिय बहसमा जोड्ने उद्देश्यले राजधानीमा पुस्तक विमोचन गरिएको उनले बताए।
शाहीले जुम्लाको सिञ्जालाई नेपाली भाषाको उत्पत्तिसँग जोडिएको ऐतिहासिक क्षेत्रका रूपमा उल्लेख गर्दै खस सभ्यता, मस्टो संस्कृति, मार्सी धान, स्याउ तथा ऐतिहासिक मठमन्दिर र सम्पदाले यस क्षेत्रको विशिष्ट पहिचान स्थापित गरेको बताए। बाइसे–चौबिसे राज्यको इतिहास बोकेको सिञ्जा सभ्यताबारे राष्ट्रियस्तरमा थप चर्चा हुनुपर्नेमा पनि उनले जोड दिए।