काठमाडौँ । देशमा हाल पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभाग र लुम्बिनी प्रदेशको हिमाली क्षेत्रमा सामान्यतया बादल लागेको छ। देशका अन्य हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहेको छ भने तराईका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहेको छ।
गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भएको महाशाखाले जनाएको छ।
आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा सामान्यतया बादल लाग्नेछ। देशका बाँकी हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।
दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा तथा अन्य हिमाली र पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
त्यसैगरी, आज राति देशका हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने पहाडी तथा तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। रातिको समयमा कर्णाली प्रदेशको हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।