जनकपुरधाम। नेपालीहरूको महान् चाड विजयादशमी नजिकिएसँगै मिथिलाको सांस्कृतिक केन्द्र जनकपुरधाममा दसैँको तयारी तीव्र पारिएको छ। यहाँका प्रमुख शक्तिपीठ राजदेवी मन्दिरसहित दर्जनौँ स्थानमा दुर्गाको मूर्ति स्थापना गरी भव्य पूजाआराधना गर्ने तयारी भइरहेको छ।
यस वर्षको दसैँलाई थप व्यवस्थित र आकर्षक बनाउन स्थानीय युवा क्लबहरू सक्रिय छन्। राजा जनककी कुलदेवी मानिने राजदेवी मन्दिरमा पूजाको व्यवस्थापनका लागि महावीर युवा कमिटीले १६ वटा समिति तथा उपसमिति गठन गरेर काम अघि बढाएको छ।
महावीर युवा कमिटीका अध्यक्ष दीपककुमार साहका अनुसार अघिल्ला वर्षभन्दा यसपटक दसैँलाई थप भव्य र व्यवस्थित बनाउने लक्ष्य छ। मन्दिर परिसरमा पण्डाल निर्माण तथा विद्युतीय सजावटको काम अन्तिम चरणमा पुगेको छ।
त्यस्तै, राम युवा कमिटीले बौद्धी माता र अमरखाना माइ मन्दिरमा पूजाको तयारी थालेको छ। कमिटीका अध्यक्ष विजय साहले धार्मिक अनुष्ठानसँगै सरसफाइ र व्यवस्थापनलाई समेत प्राथमिकता दिइएको बताए।
राजदेवी र राम मन्दिरबाहेक विद्यापति चोक, भ्रमरपुरा चोक, पिड्डिया माइस्थान, रजौललगायत स्थानमा पनि स्थानीय युवा क्लबहरूले दुर्गाको मूर्ति स्थापना गरी पूजाको तयारी गरिरहेका छन्। रंगीचंगी बत्ती र कलात्मक पण्डालले सजिन थालेका पूजा स्थलसँगै जनकपुरधाममा दसैँको रौनक बढेको छ।