राँझा (बाँके) । नेपालगञ्जस्थित जमुनाह नाकामा भन्सार जाँचमा कडाइ गरिएपछि यस वर्ष सीमावर्ती भारतीय बजार रुपैडिहामा दसैँको किनमेल गर्न जाने नेपाली उपभोक्ताको सङ्ख्या घटेको छ ।
विगतका वर्षमा दसैँ र तिहारजस्ता ठूला चाडपर्व नजिकिँदै गर्दा रुपैडिहा बजारमा नेपाली उपभोक्ताको बाक्लो भीड लाग्ने गर्थ्यो । नयाँ लुगा, घरायसी सामग्री तथा दैनिक उपभोग्य वस्तु खरिद गर्न जमुनाह नाका हुँदै दैनिक ठूलो सङ्ख्यामा नेपाली सीमापारि जाने गरेका थिए । तर, यस वर्ष रुपैडिहा बजारमा विगतको जस्तो चहलपहल देखिएको छैन ।
नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठका अनुसार सीमावर्ती बजारमा नेपाली उपभोक्ताको आवागमन घट्नुको प्रमुख कारण सीमा नाकामा गरिएको कडाइ र भन्सारसम्बन्धी नयाँ व्यवस्था हो ।
गत वैशाखदेखि नेपालगञ्ज भन्सार नाकाबाट रु एक सयभन्दा बढी मूल्यका सामान भन्सार नतिरी नेपाल ल्याउन रोक लगाइएको थियो । पछि उक्त सीमा बढाएर रु पाँच सय पुर्याइएको छ । पाँच सय रुपैयाँभन्दा बढी मूल्यका सामान ल्याउँदा भन्सार जाँच गराउनुपर्ने व्यवस्थाले पनि नेपाली उपभोक्तालाई सीमापारि किनमेल गर्न निरुत्साहित गरेको छ ।
दुवैतर्फ हुने जाँच र लामो समय लाइनमा बस्नुपर्ने समस्याका कारण रुपैडिहा जाने नेपालीको सङ्ख्या घटेको नेपालगञ्ज–२१, पुरैनाकी सिर्जना थापाले बताइन् । उनका अनुसार नेपाली ग्राहकको आवागमन कम भएपछि रुपैडिहाका पसलमा समेत चहलपहल घटेको छ ।
सीमापारि किनमेल गर्न जाने उपभोक्ताको सङ्ख्या घटेसँगै नेपालगञ्जका सपिङ मल तथा सुपरस्टोरमा भने ग्राहकको आकर्षण बढेको छ । नेपालगञ्जस्थित भाटभटेनी, वेस्टर्न मार्टलगायतका सुपरस्टोरमा नेपाली उपभोक्ताको भीड बढेको उपभोक्ता अधिकारकर्मी प्रभातकुमार ठकुरीले बताए ।
सीमा नाकामा गरिएको कडाइका कारण नेपालमै किनमेल गर्ने वातावरण सिर्जना गर्न स्थानीय व्यापारी तथा उद्योग वाणिज्य सङ्घले पहल गर्नुपर्ने उनको सुझाव छ । चाडपर्वका बेला नेपाली बजारमा हुने कृत्रिम मूल्यवृद्धि र वस्तुको अभाव नियन्त्रण गर्न नियमित बजार अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने उनले बताए ।
यद्यपि, रुपैडिहामा किनमेल गर्न जाने नेपाली उपभोक्ताको सङ्ख्या घटे पनि नेपालगञ्जको स्थानीय बजारमा खरिद बढ्ने क्रम सोही अनुपातमा नरहेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष चिरञ्जीवी ओलीले जानकारी दिए ।
उनका अनुसार सीमा नाकामा कडाइ गरिएपछि विगतको तुलनामा तस्करी पनि घटेको अनुमान छ । तर, खुला सीमाका कारण भित्री नाकाबाट हुनसक्ने अवैध ओसारपसार नियन्त्रण गर्न ती क्षेत्रमा निगरानी बढाउन आवश्यक रहेको उनले बताए ।