काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण सुरु हुन करिब तीन साता बाँकी रहँदा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नति तथा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काका अनुसार प्रतियोगितालाई व्यवस्थित र दर्शकमैत्री बनाउन मैदानको पूर्वाधार निर्माण तथा व्यवस्थापनलाई तीव्रता दिइएको छ । उनका अनुसार दसैँसम्म अधिकांश काम सम्पन्न गरी प्रतियोगिताका लागि मैदान पूर्ण रूपमा तयार पार्ने लक्ष्य राखिएको छ ।
“तयारीको अन्तिम चरणमा छौँ । प्रतियोगिता राम्रोसँग सम्पन्न गर्नुपर्ने अपेक्षा धेरै छ । प्रतियोगिता जति ठूलो हुँदै गयो, त्यति नै हाम्रो जिम्मेवारी पनि बढेको छ”, सचिव खड्काले भने ।
गत संस्करणमा देखिएका व्यवस्थापनसम्बन्धी समस्या सुधार गर्दै यसपटक मैदानमा केही नयाँ संरचना थपिने भएका छन् । एनपिएलका खेलमा दर्शकको चाप बढ्दै गएकाले उपलब्ध स्थानको अधिकतम उपयोग गरी दर्शक क्षमता विस्तार गर्ने तयारी गरिएको क्यानले जनाएको छ ।
मैदान परिसरमा थप दर्शक अटाउन सकिने स्थान पहिचान गरी आवश्यक संरचनात्मक परिवर्तन भइरहेको छ । साथै, मैदान प्रवेश गर्ने बाटो र गेट व्यवस्थापनमा सम्बन्धित मन्त्रालयसँग समन्वय गरी सुधारको पहल भइरहेको सचिव खड्काले बताए ।
टिकट लिएर मैदान पुग्ने दर्शकलाई प्रवेशदेखि खेल हेरेर फर्किंदासम्म सहज वातावरण उपलब्ध गराउने गरी व्यवस्थापनमा विशेष ध्यान दिइएको क्यानको भनाइ छ । गत संस्करणमा शौचालयको समस्या तथा आवतजावतका क्रममा धुलोका कारण दर्शकले भोग्नुपरेका समस्या यसपटक दोहोरिन नदिने तयारी गरिएको छ ।
दसैँ–तिहारबीच एनपिएल
दसैँ–तिहारको बीचमा एनपिएल आयोजना हुँदा दर्शकको उपस्थिति प्रभावित हुन सक्ने आकलन गरिए पनि क्यान यस विषयमा धेरै चिन्तित देखिँदैन । नेपाली क्रिकेटको बलियो ‘फ्यान बेस’ भएकाले चाडपर्वको समय भए पनि दर्शकको उत्साहमा कमी नआउने सचिव खड्काको विश्वास छ ।
उनका अनुसार प्रतियोगिताको मिति निर्धारण गर्दा अन्तर्राष्ट्रिय क्रिकेट तथा अन्य फ्रेन्चाइज लिगको तालिका र विदेशी खेलाडीको उपलब्धतालाई मुख्य आधार बनाइएको हो । ती सबै पक्षलाई ध्यानमा राख्दा यस वर्ष दसैँ–तिहारबीच एनपिएल आयोजना गर्नु उपयुक्त देखिएको उनले बताए ।
तेस्रो संस्करणका लागि सहभागी टोलीले अन्तर्राष्ट्रिय क्रिकेटका चर्चित खेलाडी अनुबन्ध गर्ने क्रम तीव्र पारेका छन् । विदेशी खेलाडीको सहभागिताले एनपिएलप्रतिको दर्शक आकर्षण अझ बढ्ने क्यानको अपेक्षा छ ।
टेलिभिजनमा हेर्दै आएका चर्चित खेलाडीलाई कीर्तिपुर मैदानमा प्रत्यक्ष हेर्न पाउने अवसरले दर्शकलाई मैदानसम्म आकर्षित गर्ने सचिव खड्काले बताए ।
“यसपालि ठूला–ठूला खेलाडी हरेक टोलीले ल्याइरहेका छन् । टिभीमा हेरिरहेका खेलाडीलाई अब कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदानमै प्रत्यक्ष देख्न सक्ने अवस्था बनेको छ”, उनले भने ।
एनपिएलको तेस्रो संस्करण आगामी कात्तिक ९ देखि मङ्सिर ५ गतेसम्म काठमाडौँमा आयोजना हुँदैछ ।