म्याग्दी । बेनी नगरपालिका–२ स्थित भसभसेको पहिरो म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने वैकल्पिक बागलुङ–बेनी सडकको प्रमुख चुनौती बनेको छ। सडक भासिने र हिलोमा सवारीसाधन फस्ने समस्या बढेपछि यात्रु तथा चालकले सास्ती खेप्नुपरेको छ।
गत असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षाका कारण म्याग्दी र कालीगण्डकी नदीको दोभान नजिकै रहेको भसभसेमा नदी कटानले सडक भासिएको छ। सडक बग्ने र दबिने क्रम नरोकिँदा यातायात सञ्चालनमा कठिनाइ हुनुका साथै दुर्घटनाको जोखिमसमेत बढेको छ।
पर्वत र बागलुङ जोड्ने मालढुङ्गास्थित सडक पुलको पहुँचमार्ग कालीगण्डकी नदीले बगाएपछि वैकल्पिक मार्गका रूपमा बागलुङ–बेनी–मालढुङ्गा सडक प्रयोग भइरहेको छ। मध्यपहाडी लोकमार्ग हुँदै बागलुङ, रुकुम पूर्व, रुकुम पश्चिम र जाजरकोटबाट पोखरा तथा काठमाडौं आवतजावत गर्ने सवारीसाधनसमेत यही सडकमा निर्भर छन्। यसले गर्दा सडकमा सवारीसाधनको चाप बढेको छ।
बेनी नगरपालिका–२, खबराका कमल सुवेदीका अनुसार सडक भासिएको ठाउँमा हिलोका कारण गाडी फस्ने, उकालो चढ्न नसक्ने र लामो समयसम्म जाम हुने समस्या देखिएको छ। सडक साँघुरो भएकाले दुर्घटनाको जोखिमसमेत बढेको उनले बताए।
“नदी कटान र पहिरोका कारण करिब एक सय मिटर सडक साविकको सतहभन्दा दुईदेखि तीन मिटर भासिएको छ,” सुवेदीले भने, “सवारीसाधनको चाप बढेकाले घण्टौँसम्म जाम हुने गरेको छ।”
आर्थिक वर्ष २०८१/८२ मा सडक डिभिजन कार्यालय बागलुङले भसभसे पहिरो क्षेत्रमा भूमिगत पानी व्यवस्थापन गर्नुका साथै हिलो हुने भागमा ढलान गरेको थियो। तर, अहिले ढलान गरिएको सडकसमेत भासिएपछि समस्या झन् जटिल बनेको छ।
जिल्ला समन्वय समिति म्याग्दीकी कार्यवाहक प्रमुख डिलकुमारी खत्रीले सडक डिभिजन कार्यालयले मर्मत तथा उपकरण परिचालन गरेर यातायात सञ्चालन सहज बनाउने प्रयास गरे पनि प्रतिकूल भौगोलिक अवस्थाका कारण समस्या समाधान हुन नसकेको बताइन्।
“सडक डिभिजनले ग्राभेल राखे पनि दबिएर भोलिपल्टै पुरानै अवस्था हुन्छ,” उनले भनिन्, “सडक भासिने र दबिने क्रम नरोकिएकाले फसेका गाडीलाई डोजरको सहायताले निकाल्ने गरिएको छ।”
भसभसे पहिरोका कारण नजिकैको खबरा गाउँसमेत जोखिममा परेको छ। सडकको दीर्घकालीन समस्या समाधान गर्न कालीगण्डकी र म्याग्दी नदीको दोभानमा पक्की पर्खालसहित तटबन्ध निर्माण गर्ने तथा पहिरोग्रस्त क्षेत्रमा सडकको सतह मिलाएर पक्की बनाउने पहल भइरहेको कार्यवाहक प्रमुख खत्रीले जानकारी दिइन्।